परिणाममुखी विकासको एजेन्डासहित ‘उज्यालो प्रतिबद्धता सभा’ गर्दै उज्यालो नेपाल पार्टी

डिसी नेपाल
१५ फागुन २०८२ १६:४८
16
Shares

काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीले शनिबार दिउँसो १ बजे राजधानीको खुला मञ्चमा ‘उज्यालो प्रतिबद्धता सभा’ आयोजना गर्ने भएको छ।

शुक्रबार पत्रकार सम्मेलन मार्फत पार्टीका प्रचार–प्रसार समितिका संयोजक तथा काठमाडौं क्षेत्र नम्बर–५ का उम्मेदवार श्रीराम गुरुङले कार्यक्रममार्फत देशलाई आश्वासनभन्दा परिणाममूखी विकासको स्पष्ट मार्गचित्र प्रस्तुत गरिने बताए।

उनले मुलुक अहिले आर्थिक, सामाजिक र संरचनागत चुनौतीको चरणमा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा देशलाई नयाँ ऊर्जा, स्पष्ट योजना र कार्यान्वयनयोग्य कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरे।

‘देशलाई केवल भाषण होइन, वास्तविक परिणाम चाहिएको छ,’ उनले भने, ‘ऊर्जा विकासमार्फत उद्योग, रोजगारी र समृद्धिको आधार निर्माण गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ।’

गुरुङका अनुसार सभामा पार्टीका अध्यक्ष कुलमान घिसिङको प्रमुख आतिथ्यमा ऊर्जा विस्तार, आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र राष्ट्रिय विकासका ठोस योजना सार्वजनिक गरिनेछ। उनले ऊर्जा क्षेत्रलाई नेपालको आर्थिक उन्नतिको मेरुदण्डका रूपमा प्रस्तुत गर्दै जलस्रोतको सदुपयोगबाट औद्योगिक विस्तार सम्भव रहेको बताए।

कार्यक्रमलाई पार्टीले केवल चुनावी सभा मात्र नभई नीति–प्रतिबद्धता सार्वजनिक गर्ने राष्ट्रिय संवादको रूपमा लिएको जनाएको छ। सभामार्फत पार्टीले आर्थिक रूपान्तरण, सुशासन, उत्पादनमुखी अर्थतन्त्र र युवालाई रोजगारी सिर्जना गर्ने योजनाबारे जनतालाई जानकारी गराउने तयारी गरेको छ।

गुरुङले काठमाडौंमा बसोबास गर्ने नागरिकसँगै छिमेकी जिल्लाबाट समेत सहभागी हुन आग्रह गर्दै सञ्चारमाध्यममार्फत उक्त सन्देश देशभर र विदेशमा रहेका नेपालीसम्म पुर्‍याइदिन आग्रह गरे।

उनले खुला मञ्चलाई नेपाली राजनीतिक इतिहासमा परिवर्तनका आवाज उठ्ने स्थलका रूपमा स्मरण गर्दै अब राजनीतिक परिवर्तनभन्दा आर्थिक रूपान्तरण आवश्यक रहेको बताए।

‘हामीले भन्दै आएका छौँ, क्रान्तिपछि शान्ति, शान्तिपछि समृद्धि। अब समृद्धिको चरणमा पुग्न आर्थिक रूपान्तरण अपरिहार्य छ,’ उनले भने।

त्यस्तै, उनले वर्तमान निर्वाचनलाई शान्त, सभ्य र मर्यादित बनाउन सबै राजनीतिक दल र कार्यकर्तालाई संयम अपनाउन आग्रह गरे। गाली–गलौज र तनावमुक्त वातावरणमा लोकतान्त्रिक अभ्यास सुदृढ हुने भन्दै उनले सभ्य राजनीतिक संस्कार विकास गर्नुपर्ने आवश्यकता औँल्याए।

उज्यालो नेपाल पार्टीले उक्त सभामार्फत जनसमर्थन विस्तार गर्नुका साथै आफूलाई परिणाममुखी राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने रणनीति लिएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.