दार्चुलामा तुइनको साटो झोलुंगे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

डिसी नेपाल
२६ फागुन २०८२ १०:४५
196
Shares

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङले दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्ने कार्यका लागि देशव्यापी रूपमा श्रमदातालाई तयार रहन आह्वान गरेका छन्।

सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै नवनिर्वाचित साम्पाङले पुल निर्माण स्थलको भौगोलिक अवस्था र अन्य प्राविधिक जानकारी लिन आफूले मान्छे पठाएको समेत बताएका हुन्।

‘दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्ने भएको छु। यस कठिन भौगोलिक अवस्थामा हुने निर्माण कार्यका लागि देशव्यापी रूपमा श्रमदाता पनि तयार रहनुस्। पुल निर्माण स्थलको भौगोलिक अवस्था र अन्य प्राविधिक जानकारी लिन आफूले एउटा अग्रिम टोली त्यसतर्फ पठाइसकेको छु,’ उनले भनेका छन्।

मोटर बाटो नभएका कारण निर्माण स्थलमा डोजर, क्रसर र अन्य भारी मेसिनरी उपकरण लैजान सम्भव नभएको उनले बताए।

उनले भने, ‘मोटर बाटो नपुगेको उक्त दुर्गम स्थानको सम्पूर्ण वस्तुस्थिति बुझेर टोलीले जानकारी दिएपछि म पनि निर्माण स्थलमा जन्छु। मोटर बाटो नभएका कारण निर्माण स्थलमा डोजर जाँदैन। क्रसर र अन्य भारी मेसिनरी उपकरण लैजान सम्भव छैन।’

साम्पाङले पुल निर्माणको काम सम्पन्न गर्न १५ देखि २० दिनसम्म लाग्ने जनाकारी समेत दिए। उनले भने, ‘त्यहाँ बिजुलीको सुविधा छैन त्यसले गर्दा ड्रिल मेसिन प्रयोग गर्न सकिँदैन। जेनेरेटर बोकेर लान पनि सकिँदैन। त्यसैले श्रमदानमा जानेहरूले घन, मार्तोल, बेल्चा, गैँती र झब्बलको भरमा ढुङ्गा र गिटी फुटाउनेदेखि बाटो खन्नेसम्मको काम हातैले गर्नुपर्ने हुन्छ। यसैले पुल निर्माणको काम सम्पन्न गर्न १५ देखि २० दिनसम्म लाग्न सक्छ।

सहयोगी दाताहरूलाई न्यूनतम १० रुपैयाँदेखि माथि आफ्नो गच्छेअनुसार सहयोग गर्न साम्पाङले आग्रह समेत गरका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.