बालेनले विज्ञ टोली बनाएर काम गर्नुपर्छ, जनताको अपेक्षा धेरै छ : सर्वसाधारण

मनिषा बस्नेत
२६ फागुन २०८२ १९:२५
60
Shares

काठमाडौं। हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि बन्ने नयाँ सरकारप्रति सर्वसाधारणले ठूलो अपेक्षा राखेका छन्।

उनीहरूका अनुसार विगतमा सत्ता सम्हालेका पूराना राजनीतिक दलहरूले जनताको चाहना अनुसार काम गर्न नसकेपछि जनतामा असन्तुष्टि बढेको थियो। यही असन्तुष्टिको परिणामस्वरूप अहिले नयाँ नेतृत्व र नयाँ राजनीतिक शक्तिप्रति जनताले आशा राखेका हुन्।

सर्वसाधारणको भनाइमा अब बन्ने सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेछ। व्यक्तिगत, दलगत स्वार्थ र सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनुपर्ने उनीहरूको धारणा छ।

काठमाडौंमा रहेका पोखराका डा. श्रीकृष्ण कँडेलका अनुसार पूराना दलप्रति वाक्कदिक्क भएका कारण जनताले नयाँ अनुहार र युवाहरूलाई अवसर दिएका हुन्। ‘पुराना पार्टीप्रति वाक्क भएर नयाँ पार्टी, नयाँ मान्छे र युवाहरू आएका छन्। यिनले केही गर्छन् भन्ने सबैको अपेक्षा छ,’ उनले भने।

उनका अनुसार अहिले विभिन्न स्थानमा बालेन शाह र रवि लामिछानेको सम्बन्धलाई लिएर विभिन्न चर्चा भइरहेको भएपनि अन्ततः देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नु सबैको दायित्व हो। ‘अब आफूभन्दा पनि देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ,’ कँडेलले भने।

उनले अहिले देशका धेरै क्षेत्रमा समस्या र बेथिती रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा सुधार गर्न सरकार गम्भीर हुनुपर्ने बताए। ‘यी क्षेत्रमा व्यापक बेथिती छ। त्यसलाई नआत्तिकन र नहतारिकन व्यवस्थित रूपमा सुधार गर्दै जनताले सरकारले काम गरेको अनुभूति गर्ने गरी काम गर्नुपर्छ,’ उनले भने।

कँडेलका अनुसार सरकारी निकायबाट पीडित भएका नागरिकहरूले राहत पाउने वातावरण पनि सरकारले बनाउन आवश्यक छ। छोटो समयमा गर्न सकिने काम र दीर्घकालीन रूपमा गर्नुपर्ने योजनाहरू स्पष्ट रूपमा छुट्याएर सरकार अघि बढ्नुपर्ने उनले बताए।

‘सरकारले छोटो समयमै देखिने परिणाम दिने कामहरू पनि गर्नुपर्छ र दीर्घकालीन विकासका योजना पनि बनाउनुपर्छ। बीचमा रहेका माफिया र बिचौलियाहरूलाई निस्तेज गर्दै सरकार अघि बढ्नुपर्छ,’ उनले भने।

उनले सरकार कुनै एक व्यक्तिले मात्र नभई टिमवर्कका आधारमा सञ्चालन हुने भएकाले सक्षम र विज्ञहरूको साथ अत्यन्त आवश्यक पर्ने बताए।

‘बालेनसँगै नयाँ शिक्षित युवाहरूले सरकार चलाउँदा सुरुमा केही अन्योल हुन सक्छ। तर उहाँलाई सहयोग गर्न सम्बन्धित क्षेत्रका विज्ञहरू तयार छन्। विज्ञहरूको सल्लाह लिएर अघि बढे नयाँ सरकार सफल हुन सक्छ,’ कडेलले भने।

उनले बालेनले सरकार चलाउन सक्दैनन् भन्ने सोच गलत भएको पनि बताए। उनका अनुसार अवसर र उचित टोली पाए नयाँ नेतृत्वले पनि राम्रो काम गर्न सक्छ।

कँडेलले पूराना राजनीतिक दलहरूलाई पनि आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताए। ‘पुराना दलहरू पहिले आफैं सच्चिनुपर्छ। माथिको नेतृत्वदेखि तल्लो तहका कार्यकर्तासम्मले सामान्य जनताको बेवास्ता गर्दै हिँडे,’ उनले भने।

उनका अनुसार धेरै नेताहरूले आफू जनताको समर्थनबाट आएको भन्ने कुरा बिर्सिए। ‘म कहाँबाट उठेर आएको हुँ, म कसको समर्थनले यहाँ पुगेको हुँ, मेरो जिम्मेवारी के हो भन्ने बोध नगरी आफू नै सर्वोपरी हुँ भन्ने सोचमा धेरै नेता हिँडे,’ उनले भने।

यस्तो प्रवृत्तिका कारण पुराना दलप्रति जनताको विश्वास कमजोर बनेको उनले बताए।

तर उनले पुराना दलहरू सधैंका लागि समाप्त हुने भन्ने पनि आवश्यक नरहेको धारणा व्यक्त गरे। ‘यदि नयाँ नेतृत्वले पनि राम्रो काम गर्न सकेन भने जनताले फेरि पूराना दललाई पनि अवसर दिन सक्छन्,’ उनले भने।

उनका अनुसार अहिले जनता धेरै आकुल–व्याकुल अवस्थामा छन् र उनीहरू नयाँ विकल्प तथा राहतको खोजीमा छन्।

चितवनका रामबहादुर सिम्खडाले पनि नयाँ सरकारप्रति जनताको अपेक्षा धेरै रहेको बताए। उनले पूराना दलहरूले विगतमा गरेका गल्तीहरू नदोहो¥याई सुधारका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

‘प्रतिशोधको राजनीति त्याग्नुपर्छ। कानुन र संविधानअनुसार देश चलाउनुपर्छ,’उनले भने।

उनका अनुसार विगतका सरकारहरूले जनताको अपेक्षा पूरा गर्न नसकेको कारण नै नयाँ राजनीतिक शक्ति जन्मिएको हो।

‘हाम्रो आकांक्षा अघिल्ला सरकारहरूले पूरा गर्न सकेनन्। त्यसैले नयाँ विकल्प आएको हो,’ सिम्खडाले भने।

उनले नयाँ पार्टी र सरकारले पूराना पार्टी तथा सरकारका कमजोरीहरूलाई राम्रोसँग अध्ययन गरेर जनताको आवश्यकता पूरा गर्ने नीतिहरू ल्याउनुपर्ने बताए।

सिम्खडाले काठमाडौं महानगरपालिकाको मेयरका रूपमा बालेन शाहले गरेको कामप्रति पनि सकारात्मक टिप्पणी गरे।

‘बालेनले महानगरमा धेरै काम गर्न पाएनन्, तर जति काम गरेपनि जनताको आवश्यकता अनुसार मन छुने काम गरेका छन्,’ उनले भने।

यदि बालेन शाह प्रधानमन्त्री भए देशका लागि राम्रो काम गर्ने विश्वास पनि उनले व्यक्त गरे। ‘उहाँ प्रधानमन्त्री हुनुभयो भने सफल कार्यकालको शुभकामना,’ उनले भने।

यस्तै, एकेन्द्र पन्तले विगतका वर्षहरूमा देशमा कुशासन, भ्रष्टाचार र शान्ति–सुरक्षाका विषयमा व्यापक असन्तुष्टि बढेको बताए।

उनका अनुसार यही असन्तुष्टिको परिणामस्वरूप अहिले नयाँ राजनीतिक परिस्थिति बनेको हो।

‘विगतका कुशासन, भ्रष्टाचार र शान्तिको विषयमा जनतामा व्यापक असन्तुष्टि थियो। त्यसकै कारण अहिले नयाँ परिस्थितिको निर्माण भएको हो,’ उनले भने।

पन्तका अनुसार अब बन्ने सरकारले आम जनताको भावना बुझ्दै भ्रष्टाचार अन्त्य गर्न विशेष पहल गर्नुपर्छ।

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित रूपमा अघि बढाउँदै राष्ट्रिय स्वाभिमान कायम राख्नु पनि सरकारको महत्वपूर्ण दायित्व हुने बताए।

पन्तले नयाँ पार्टीहरूमा अनुभवको अभाव देखिए पनि त्यसलाई कमजोरीका रूपमा मात्र हेर्न नहुने बताए।

‘नयाँ नेतृत्वमा अनुभव कम हुन सक्छ, तर जनताको उत्साह र समर्थन ठूलो छ,’ उनले भने।

उनका अनुसार योग्य र सक्षम विज्ञहरूको टोली बनाएर काम गरे नयाँ नेतृत्व सफल हुन सक्छ।

‘काठमाडौं महानगर चलाएको जस्तो मुलुक चलाउन पक्कै पनि गाह्रो हुन्छ, तर यदि विज्ञहरूको समूह बनाएर नातावाद र पक्षपात बिना काम गरे भने सफल हुन सक्छन्,’ उनले भने।
पन्तले नयाँ नेतृत्वलाई जनताले उत्साहका साथ सत्तामा पुर्‍याएको उल्लेख गर्दै अब उनीहरूलाई सही मार्गमा राख्ने जिम्मेवारी पुराना दलहरूको पनि हुने बताए।

सर्वसाधारण नागरिकहरूका अनुसार अबको सरकारले जनताको विश्वास जित्ने गरी काम गर्न सके मात्र देशमा राजनीतिक स्थिरता र विकासको वातावरण बन्न सक्छ। उनीहरूले पारदर्शिता, सुशासन, जनमुखी नीति र जिम्मेवार नेतृत्वमार्फत देशलाई सही दिशामा अघि बढाउने अपेक्षा व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.