शिक्षा नीतिमा परिमार्जन गर्न लागिएको छ : मन्त्री पोखरेल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा हुने अनावश्यक राजनीतिलाई निरुत्साहित गर्न शिक्षा नीतिमा परिमार्जन गर्न लागिएको बताएका छन्।
सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित जनता माविमा आयोजित प्राविधिकधार कृषि बाल विज्ञान शिक्षाको उद्घाटन गर्दै उनले शिक्षामा राजनीति गर्नेलाई सरकारले अब छुट नदिने बताए।
विद्यालय जागिर खाने नभई राष्ट्र निर्माण गर्ने थलो भएको भन्दै मन्त्री पोखरेलले शिक्षकलाई राजनीति नगर्न आग्रह गरे।
शिक्षालाई श्रमसँग र प्रविधिलाई सीपसँग जोड्नुपर्ने उल्लेख गर्दै उनले सीपलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोड्नुपर्ने बताए। सरकारले सङ्ख्यात्मकभन्दा पनि गुणात्मक शिक्षक उत्पादनतर्फ ध्यान केन्द्रित गरिरहेको उनको भनाइ थियो।
मौलिक हकका रूपमा संविधानभित्रै समेटिएकाले अनिवार्य र वैज्ञानिक शिक्षाको रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री पोखरेलले बताए।
बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार मेहताले गाउँपालिकामा प्राविधिक शिक्षाको प्रारम्भ हुनु स्वागतयोग्य भएको बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment