इन्धन मूल्यवृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनी

डिसी नेपाल
११ चैत २०८२ १६:३९
4
Shares

काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इन्धनको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ।

महासंघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल आयल निगमले चैत २ गते राति १ बजेदेखि लागू हुने गरी डिजेलमा १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

महासंघका अनुसार मूल्यवृद्धिपछि तत्काल भाडा समायोजनको माग गर्दै सम्बन्धित निकायमा अनुरोध गरिए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उल्लेख गरिएको छ।

यसैबीच यातायात व्यवस्था विभागले पनि भाडा समायोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरिसकेको छ। विभागले २०६५ सालदेखि लागू वैज्ञानिक भाडा समायोजन विधिअनुसार १३ वटा सूचकका आधारमा यात्रुवाहकतर्फ ११.३३ प्रतिशत, तराई मालवाहकतर्फ ८.८१ प्रतिशत र पहाडतर्फ १४.२९ प्रतिशत भाडा वृद्धि गर्नुपर्ने सिफारिस गरेको जनाएको छ।

महासंघले २०७२ सालदेखि भाडा समायोजन नभएको भन्दै हाल व्यवसायीहरूले दैनिक लाखौं रुपैयाँ घाटामा सेवा सञ्चालन गरिरहेको उल्लेख गरेको छ।

महासंघका महासचिव डेकनाथ गौतमले सरकारबाट छिटो निर्णय नआए सेवा बन्द गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन्। उनले विभागको सिफारिसअनुसार स्वघोषणा गरी भाडा समायोजन गरेर सेवा सञ्चालन गर्ने विकल्पसमेत खुला राखिएको बताए।

महासंघले यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने चेतावनी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *