कनकासुन्दरीका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव, बिरामी मर्कामा
मुगु। कनकासुन्दरी गाउँपालिकाका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव देखिएको छ। गाउँपालिका–२ स्थित मालिकाबोटा स्वास्थ्य चौकीमा करिब दुई महिनादेखि एन्टिबायोटिकजस्ता महत्वपूर्ण औषधि उपलब्ध नभएको पाइएको हो।
स्थानीयका अनुसार मालिकाबोटा स्वास्थ्य चौकीमा एमोक्सिसिलिन, सिप्रोफ्लोक्सासिनलगायत औषधि अभाव हुँदा बिरामीहरू उपचारविहीन बन्ने अवस्था आएको छ।
स्वास्थ्य चौकी इन्चार्ज रतन हमालका अनुसार उक्त स्वास्थ्य संस्थामा ९२ प्रकारका औषधि उपलब्ध हुनुपर्ने भए पनि गाउँपालिकाबाट १३÷१४ प्रकारका औषधि समेत नियमित रूपमा नआउने गरेको छ। ‘एन्टिबायोटिक औषधि अत्यावश्यक हुन्छन्, तर ती नै करिब दुई महिनादेखि अभावमा छन्,’ उनले भने।
उनका अनुसार गाउँपालिकामा औषधि माग फाराम पठाए पनि हालसम्म आपूर्ति हुन सकेको छैन। चालु आर्थिक वर्षको पहिलो चौमासिकमै औषधि खरिद गरिसक्नुपर्ने भए पनि ढिलाइ भएको र हालै मात्र गाउँपालिकाको स्टोरमा औषधि पुगेको जानकारी प्राप्त भए पनि स्वास्थ्य चौकीसम्म नआएको उनले बताए।
स्वास्थ्य चौकीमा दैनिक १० देखि १५ जना बिरामी उपचारका लागि आउने गरेका छन्। चिसो हावापानीका कारण दम तथा श्वासप्रश्वाससम्बन्धी बिरामीको संख्या बढी हुने गरेको इन्चार्ज हमालले जानकारी दिए।
औषधि अभावका कारण उपचारका लागि पुगेका बिरामीहरू खाली हात घर फर्किन बाध्य भएको स्थानीयले गुनासो गरेका छन्।







डिसी नेपाल







Facebook Comment