राम नवमी मनाउने विषयमा हिन्दूवादी संस्था र प्रशासन आमने–सामने
जनकपुर । भोली राम नवमी रहेको छ। धनुषामा धुमधामका साथ प्रत्येक वर्ष राम नवमी मनाइने गरिन्छ। जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा भव्यताका साथ राम नवमी मनाईने गरेको इतिहास नै रहेको छ।
विगतका केही वर्षहरुमा धनुषामा सक्रिय रहेका हिन्दूवादी संघ, संस्था एवम संगठनहरुले राम नवमीमा विशेष कार्यक्रमहरु गर्दै आएको छ। यस वर्ष पनि विभिन्न हिन्दूवादी संस्थाले राम नवमीको दिन धनुषामा मोटरसाईकल र्याली निकाल्ने जानकारी गराएका छन्।
उनीहरुले प्रशासनसँग शान्ति सुरक्षाका लागि अनुमति पनि मागेका छन्। तर जिल्ला प्रशासन कार्यालय धनुषाले पत्र जारी गर्दै हिन्दूवादी संघ संस्थालाई कुनै पनि किसिमको सभा, जुलुस, र्याली र प्रदर्शन नर्गन आदेश दिएको छ। जिल्ला प्रशासन कार्यालयको पत्र पछि हिन्दूवादी संघ संस्थाहरुले आपत्ति जनाउँदै धार्मिक कार्यमा रोक लगाउन नहुने भन्दै कुनै पनि हालतमा मोटरसाईकल र्याली निकाल्ने बताएका छन्।
राष्ट्रिय एकता दलका मधेश प्रदेश इन्चार्ज मनिष पुर्वेले प्रेस विज्ञप्ति जारी गर्दै प्रशासनको निर्णय अस्वीकार्य रहेको बताएका छन्। उनले धार्मिक कार्यक्रममा रोक लगाउने निर्णय पूर्णतः गलत, पक्षपातपूर्ण र असंवैधानिक कदम रहेको विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले प्रशासनको निर्णय नमान्ने र मोटरसाईकल र्याली तथा शोभा यात्रा निकाल्ने जानकारी गराएका छन्। कुनै किसिमको अवरोध सिर्जना भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रशासनको हुने उनले चेतावनी दिएका छन्।
यता हिन्दू सम्राट नेपाल नामक हिन्दूवादी संस्थाका महासचिव राकेश यादवले पनि प्रशासनले धार्मिक कार्यमा अवरोध गर्नु गलत भएको भन्दै कुनै पनि हालतमा शोभा यात्रा र र्याली निकालेर छोड्ने बताएका छन्।







डिसी नेपाल







Facebook Comment