जनता क्याम्पसमा छात्रावास निर्माण सुरु

डिसी नेपाल
१४ चैत २०८२ १७:१६
24
Shares

विराटनगर। सुनसरीको इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न टाढाटाढाबाट आउने विद्यार्थीका लागि दीर्घकालीन समाधान खोज्दै छात्र तथा छात्राका लागि छुट्टाछुट्टै छात्रावास निर्माण कार्य सुरु गरिएको छ। यसलाई क्याम्पसले ‘शिक्षामा पहुँच विस्तार’ को रणनीतिक कदमका रूपमा अघि बढाएको जनाएको छ।

झण्डै पाँच करोड रुपैयाँ लागतमा बन्ने छात्रावासको शनिबार क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीले सिलान्यास गरेका हुन्।

संघीय सरकारको बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक वर्षमा पहिलो किस्ताबापत १ करोड ४२ लाख रुपैयाँ निकासा भएपछि निर्माण प्रक्रिया अघि बढाइएको हो।

पहिलो चरणमा छात्र र छात्राका लागि अलग–अलग एकतले भवन निर्माण गरिनेछ, जसमा प्रत्येकतर्फ १४–१४ वटा कोठा रहनेछन्। निर्माणको जिम्मा चारुमति कन्ट्रक्सन प्रालिले पाएको छ। ठेकेदार जीवन तिम्सिनाका अनुसार पहिलो चरणको काम २०८४ पुस मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

क्याम्पसका पदाधिकारीहरूका अनुसार छात्रावास निर्माणले विशेषगरी पूर्वी पहाडी जिल्ला र मधेश प्रदेश बाट आउने विद्यार्थीलाई ठूलो राहत दिनेछ। हाल ती विद्यार्थीहरूलाई डेरा खोज्ने र महँगो भाडा तिर्ने बाध्यता रहेको छ। छात्रावास बनेपछि त्यस्तो समस्या अन्त्य हुने विश्वास लिइएको छ।

क्याम्पस प्रमुख डा. गीता अधिकारीका अनुसार दुर्गम र आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई उच्च शिक्षामा पहुँच विस्तार गर्न छात्रावास निर्णायक बन्नेछ। ‘नियमित उपस्थिती,अध्ययनमा निरन्तरता र समग्र शैक्षिक उपलब्धीमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेका छौं,’ उनले भनिन्।

जनता क्याम्पसले पछिल्लो समय विद्यार्थीमैत्री सेवाहरू विस्तार गर्दै आएको छ। हाल क्याम्पसले ७ वटा बसमार्फत सुनसरी र पूर्वी मोरङका विभिन्न स्थानबाट विद्यार्थीलाई निःशुल्क आवतजावत सुविधा दिँदै आएको छ।

यसैबीच, क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई समेत प्राथमिकता दिएको छ। भारतका बाबा मस्तनाथ विश्वविद्यालय र श्री जे जे टी विश्वविद्यालय सँग सम्झौता गर्दै शैक्षिक आदान–प्रदानलाई विस्तार गरिएको छ।

विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायन प्राप्त गरिसकेको क्याम्पसमा हाल स्नातक र स्नातकोत्तर तहका विभिन्न कार्यक्रम सञ्चालनमा छन् भने कक्षा ११–१२ समेत पढाइ हुँदै आएको छ। क्याम्पसमा हाल ५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *