नेपालबाट वार्षिक तीन करोड जुत्ता निर्यात

डिसी नेपाल
१४ चैत २०८२ १९:२८
72
Shares

काठमाडौं। नेपालबाट प्रत्येक वर्ष तीन करोड जोर जुत्ता विदेश निर्यात हुँदै आएको छ। जुत्ता उत्पादक सङ्घका महासचिव निर्मल भट्टराईले शनिबार एक विज्ञप्ति जारी गरी नेपाल जुत्तामा आत्मनिर्भर भएको जानकारी दिए।

‘नेपाली जुत्ता उद्योगसँग वार्षिक १६ करोड जुत्ता उत्पादन क्षमता छ। वार्षिक रूपमा तीन करोड जुत्ता निर्यात हुँदै आएको छ’, उनले भने। आन्तरिक उपभोगको ७० प्रतिशत हिस्सा नेपाली जुत्ताले ओगटेको सङ्घले जनाएको छ।

स्वदेशी उत्पादन, निर्यात र आन्तरिक खपत बढाउने लक्ष्यका साथ अघि बढिरहको सङ्घले यही चैत २९ र ३० गते काठमाडौंमा हुन लागेको नेपाल उद्योग वाणिज्य महासङ्घको वस्तुगत कार्यसमितिको सदस्यमा सङ्घका अध्यक्ष सुरज बन्जाडेलाई अघि सारेको छ। मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना, निर्यातलगायत क्षेत्रमा जुत्ता उत्पादक सङ्घले महत्वपूर्ण भूमिका खेलेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल जुत्ता उत्पादनमा आत्मनिर्भर हुनाका साथै जुत्ता निर्यातमार्फत वैदेशिक मुद्रा आर्जन गरी मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आइएको सङ्घका महासचिव भट्टराईले बताए।

जुत्ता उत्पादन र निर्यातका क्रममा देखिएका समस्यालाई नेपाल उद्योग वाणिज्य महासङ्घमार्फत समाधान र खबरदारी गर्नका लागि अध्यक्ष बन्जाडेलाई महासङ्घको सदस्यमा आफूहरूले अघि सारेको उनले उल्लेख गरे।

नेपाली जुत्ता उद्योगको विकास, संवर्द्धन र नेपाली जुत्ताको बजार प्रवर्द्धन आजको मुख्य आवश्यकता भएको बताउँदै सङ्घले राखेको लक्ष्यलाई प्राप्त गर्न महासङ्घमा अध्यक्षको सशक्त प्रतिनिधित्व हुनु जरुरी रहेको महासचिव भट्टराईको भनाइ छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *