एमाले आन्दोलनमा ‘मलाई गोली ठोक्नुस्’ भन्दै चर्चामा आएका ओझा मिडियामा
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीको विरोधमा काठमाडौंमा शनिबार भएको प्रदर्शनका क्रममा डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले देखाएको व्यवहार अहिले सामाजिक सञ्जालमा चर्चा र विवादको विषय बनेको छ।
शनिबार काठमाडौंको सडकमा उत्रिएका ओझाले लुगा फुकालेर ‘मलाई गोली ठोक्नुस्’ भन्दै सरकार र प्रधानमन्त्री बालेन शाह विरुद्ध चर्को नाराबाजी गरेका थिए।
एमालेले आफ्ना पार्टी अध्यक्षको गिरफ्तारीविरुद्ध देशभर आन्दोलनको घोषणा गरेसँगै काठमाडौंमा भएको विरोध प्रदर्शनमा ओझा सहभागी थिए। प्रदर्शनका क्रममा एकाएक आवेशमा आएका उनले सार्वजनिक सडकमै ‘अभद्र’ देखिने गरी कपडा फुकालेर विरोध जनाएपछि सुरक्षाकर्मी र सर्वसाधारण समेत चकित परेका थिए।
प्रदर्शनका क्रममा आक्रोशित भावमा देखिएका अध्यक्ष ओझाले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङको कडा आलोचना गरे। उनले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक एवं पूर्वप्रधानमन्त्री केपी ओलीलाई रातारात गिरफ्तार गरिएकामा आपत्ति जनाए।
उनले भने, ‘म डोटीको जोरायल गाउँपालिकामा नौं वर्षदेखि अध्यक्ष पदमा कार्यरत छु। केपी ओलीलाई रातारात किन गिरफ्तार गरियो? उहाँ ज्येष्ठ नागरिक हो, उहाँलाई सम्मान गर्न नचाहने बालेन सरकार गलत छ। ज्येष्ठ नागरिकलाई बिहान ४-५ बजे गिरफ्तार गर्न मिल्दैन, यो त अपराधिकरण भयो।’
उनले जोरायल गाउँपालिकामा स्वास्थ्यको क्षेत्रमा बालेनको भन्दा कम काम गरेको पाइए राजनीति नै त्याग्न तयार रहेको बताए। ओझाले अगाडि थपे, ‘बालेन चार वर्ष मात्र मेयर भएका हुन्। स्वास्थ्यको क्षेत्रमा बालेनले भन्दा मैंले कम काम गरेको रहेछु भने म राजनीति नै त्याग्न तयार छु । पहाडी जिल्लाको जिरोबाट सुरु गरेको जोरायलमा मंैले धेरै काम गरेको छु, बालेनले अलिअलि झिलिमिली बालेकै भरमा मान्छेहरू बालेन–बालेन भन्दै हिँडेका छन्।’
उनले गृहमन्त्री सुदन गुरुङलाई ‘बच्चा’ को संज्ञा दिँदै आफूले उनलाई नचिन्ने समेत बताए। ‘सुदन गुरुङ भन्ने बच्चा हुन्, उनलाई म चिन्दिन। गृहमन्त्री होला आफ्नो ठाउँमा छ,’ उनले भने।
ओझाले सडकमै लुगा फुकालेर असामान्य व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भएको छ। एउटा स्थानीय सरकारको प्रमुख जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले सार्वजनिक स्थलमा यस्तो अशोभनीय र अश्लील देखिने व्यवहार प्रदर्शन गर्नु मर्यादा विपरीत भएको भन्दै व्यापक आलोचना भइरहेको छ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जनप्रतिनिधिको आचरण र नैतिकतामाथि प्रश्न उठाएका छन्। कतिपयले यसलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिएका छन् भने कतिपयले राज्यको सेवा-सुविधा लिने पदमा बसेर सडकमा यस्तो हर्कत देखाउनु लज्जास्पद भएको टिप्पणी गरेका छन्।
कार्की आयोगको फैसला र ओली पक्राउ प्रकरणले गर्दा यतिबेला मुलुकको राजनीतिक वातावरण निकै गर्माएको छ। एमाले कार्यकर्ताहरूले सरकारले प्रतिशोध साँध्न खोजेको आरोप लगाउँदै सडक तताएका छन् । यही राजनीतिक तनावका बीच जोरायलका अध्यक्ष ओझाको यो घटनाले जनप्रतिनिधिको भूमिका र सार्वजनिक मर्यादाबारे नयाँ बहस सिर्जना गरिदिएको छ।







डिसी नेपाल







Facebook Comment