अवैध लागूऔषधसहित आठ जना पक्राउ
काठमाडौं। अवैध लागूऔषधसहित प्रहरीले देशका विभिन्न स्थानबाट आठ जनालाई पक्राउ गरेको छ।
काठमाडौंको काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ हजार ५ सय १६ ट्याब्लेट सहित ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोट शिवपुरी गाउँपालिका-६ घर भएका ३५ वर्षीय सुरेश तामाङ, दलोखा भीमेश्वर नगरपालिका-६ घर भएका २२ वर्षीय सन्जिव घिसिङ, धनुषा जनकपुरधाम उपमहानगरपालिका-८ घर भएका २२ वर्षीय सुरेन्द्र कुमार रौनिहार र काभ्रे रोशी गाउँपालिका-९ घर भएका २३ वर्षीय रोहित राना मगर रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सुरेशलाई ट्रामाडोल ३१ हजार ८ सय ट्याब्लेट र सन्जिवलाई १ हजार ९ सय ९६ ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-२२ बाट, सुरेन्द्रलाई १ हजार १ सय २० ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-११ सुन्धाराबाट र रोहितलाई ६ सय ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-२१ भोटेबहालबाट पक्राउ गरेको हो।
बाँकेको कोहलपुर नगरपालिका-४ बेलनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय मिलिग्राम र नगद ६० हजार रूपैयाँ सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय कमरूदिन जागा र २२ वर्षीय जमाल हसन जागा रहेका छन्। इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडा छपेलीबाट अवैध लागूऔषध गाँजा ७ किलो ५ सय २४ ग्राम सहित मकवानपुर भीमफेदी गाउँपालिका-४ बस्ने ३७ वर्षीया सुन्तली तामाङ समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले हेटौंडाबाट ललितपुर भैंसेपाटीतर्फ आउँदै गरेको बा.८६ प ४००९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment