अमेरिका-इरान वार्ता इस्लामावादमा हुने: इरानद्वारा १० बुँदे ‘शान्ति प्रस्ताव’ सार्वजनिक

डिसी नेपाल
२५ चैत २०८२ ७:५८
1.9k
Shares

इस्लामावाद। अमेरिका र इरानबीच दुई हप्ता लामो युद्धविराम घोषणा भएपछि अब दुवै देशका उच्चस्तरीय प्रतिनिधिहरू वार्ताका लागि पाकिस्तानको राजधानी इस्लामावादमा भेला हुने भएका छन्। आगामी शुक्रबार, अप्रिल १० (२०२६) देखि सुरु हुने यो वार्ताको मुख्य उद्देश्य दुई हप्ताको अस्थायी युद्धविरामलाई स्थायी शान्ति सम्झौतामा बदल्नु रहेको छ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको मध्यस्थतामा हुन लागेको यो वार्तामा दुवै देशका प्रतिनिधिहरूले इरानले अघि सारेको १० बुँदे प्रस्तावमाथि छलफल गर्नेछन्।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्ध अन्त्यका लागि दशवटा लिखित सर्तहरू सार्वजनिक गरेको छ, जसलाई अमेरिकी राष्ट्रपति ट्रम्पले “छलफल गर्न सकिने आधार” भनेका छन्।

१. आक्रमणको पूर्ण अन्त्य: अमेरिका र उसका सहयोगी राष्ट्रहरूले इरानी भूमिमा गरिरहेका सबै प्रकारका सैन्य हमलाहरू तत्काल र पूर्ण रूपमा बन्द गर्नुपर्ने।

२. स्थायी युद्ध अन्त्य: इरानले अस्थायी युद्धविराम मात्र नभई युद्धको पूर्ण र स्थायी अन्त्य हुनुपर्ने माग राखेको छ।

३. होर्मुज जलडमरू खुला गर्ने: बदलामा, इरानले विश्वको महत्त्वपूर्ण तेल मार्ग ‘होर्मुज जलडमरू’ लाई पुनः सञ्चालनमा ल्याउने।

४. पारगमन शुल्क (Fee): जलमार्ग प्रयोग गर्ने प्रत्येक जहाजबाट करिब २० लाख डलर शुल्क लिइने र उक्त रकम ओमानसँग बाँडफाँट गरिने।

५. पुनर्निर्माण कोष: जहाजबाट संकलन गरिएको शुल्क इरानले युद्धमा क्षतिग्रस्त भएका आफ्ना पुल, पावर प्लान्ट र पूर्वाधार निर्माणमा खर्च गर्ने।

६. प्रतिबन्धहरूको फुकुवा: अमेरिकाले इरानमाथि लगाएका सबै प्राथमिक र माध्यमिक आर्थिक प्रतिबन्धहरू हटाउनुपर्ने।

७. युरेनियम संवर्द्धनको मान्यता: इरानको परमाणु कार्यक्रम (युरेनियम संवर्द्धन) लाई शान्तिपूर्ण कार्यका लागि मान्यता दिनुपर्ने।

८. सहयोगीमाथिको आक्रमण बन्द: लेबनानको हिजबुल्लाह लगायत क्षेत्रका अन्य इरानी सहयोगी समूहहरूमाथि भइरहेको आक्रमण रोकिनुपर्ने।

९. जफत सम्पत्तिको फुकुवा: विदेशमा रोक्का गरिएका इरानी बैंक खाता र सम्पत्तिहरू फुकुवा गरिनुपर्ने।

१०. अन्तर्राष्ट्रिय ग्यारेन्टी: यो सम्झौतालाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मार्फत अनुमोदन गराई कानुनी रूपमा बाध्यकारी बनाइनुपर्ने।

यद्यपि यी बुँदाहरूमाथि छलफल गर्न अमेरिका तयार देखिएको छ, तर प्रतिबन्ध फुकुवा र युरेनियम संवर्द्धन जस्ता विषयमा दुवै पक्षबीच कुरा मिल्न कठिन हुने देखिन्छ। इस्लामावादमा हुने वार्तामा अमेरिकी विशेष दूत स्टिभ विट्कोफ र इरानी विदेशमन्त्री अब्बास अराघचीबीच प्रत्यक्ष संवाद हुने सम्भावना छ।

विश्व समुदायले यो वार्तालाई निकै चासोका साथ हेरिरहेको छ, किनकि यसैको नतिजाले मध्यपूर्वमा आगामी वर्षहरूको शान्ति वा युद्धको दिशा तय गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *