मिर्गौला पीडित कुल बहादुरको जीवन बचाउन हारगुहार

डिसी नेपाल
२५ चैत २०८२ ११:१७
16
Shares

रौतहट । जुन हातहरूले हिजोसम्म दैनिक ज्यालादारी गरेर परिवारको बिहान–बेलुकीको छाक टार्ने गर्दथे, आज तिनै हातहरू आफ्नै जीवनको भिक्षा माग्दै अस्पतालको शय्याबाट छटपटाइरहेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका–४ का कुल बहादुर सुनार अहिले मृत्यु र जीवनको दोसाँधमा छन् ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको संसार नै अन्धकार बनेको छ । हाल काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचाररत सुनारको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ । चिकित्सकका अनुसार उनको जीवन बचाउने एकमात्र विकल्प ‘मिर्गौला प्रत्यारोपण’ हो । तर, एकातिर मिर्गौला दाताको अभाव छ भने अर्कोतिर उपचारका लागि आवश्यक मोटो रकमले परिवारलाई मर्माहत बनाएको छ ।

विगतमा पसिना बगाएर परिवार पाल्दै आएका कुल बहादुर आफैं थला परेपछि परिवारको आम्दानीको स्रोत शून्य भएको छ । हाल उनलाई हप्तामा कम्तीमा एक पटक डायलोसिस गर्नुपर्ने हुन्छ। एक पटक डायलोसिस गर्दा करिब ५ हजार रुपैयाँ खर्च लाग्छ । सामान्य परिवारका लागि हप्ताको ५ हजार जुटाउनु पहाड पल्टाउनु सरह भएको छ ।

“बुबाको उपचार गर्दागर्दा भएको जेथो सकियो, अब कसरी बचाउने’ भन्दै परिवारका सदस्यहरू भक्कानिन्छन् ।
‘सेवा नै धर्म हो’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै पीडित परिवारले देश–विदेशमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सहयोगको याचना गरेका छन्। तपाईको एउटा सानो सहयोगले कसैको सिन्दूर पुछिनबाट जोगिन सक्छ, कसैको छोराछोरीको ओठको हाँसो फर्कन सक्छ ।

सहयोग गर्न चाहने महानुभावहरूले कुल बहादुरकी छोरी सोबी सुनारको बैंक खातामा क्यूआर कोड (त्तच् ऋयमभ) मार्फत वा सिधै रकम जम्मा गरी सहयोग गर्न सक्नुहुनेछ ।

एउटा व्यक्तिको सानो दान, कुल बहादुरको लागि वरदान बन्न सक्छ । मानवताको नाताले यस दुःखद घडीमा साथ दिई उनको जीवनरक्षा गरिदिनुहुन परिवारले विनम्र अनुरोध गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *