नक्कली प्लेटमा ‘घुमिरहेका’ सवारी : चार गाडी प्रहरी फन्दामा पर्दा सीमावर्ती नेटवर्कमाथि शंका
इटहरी। कोशी प्रदेशमा नक्कली नम्बर प्लेट जडान गरेर सवारी सञ्चालन गर्ने प्रवृत्ति अझै सक्रिय रहेको संकेत दिँदै इटहरी क्षेत्रमा चार वटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको संयुक्त चेकिङ अभियानमा ती सवारीहरू विभिन्न स्थानबाट फेला परेका हुन्।
विशेष सूचनाका आधारमा गरिएको निगरानीका क्रममा टाटा पन्च, महेन्द्रा बोलेरो पिकअप, हुण्डाईको निजी कार र भारतीय मारुती सुजुकी कार बरामद गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक जाँचमै ती सवारीमा आवश्यक कागजात अभावसँगै नक्कली नेपाली नम्बर प्लेट प्रयोग गरिएको पुष्टि भएपछि थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाइएको छ।
प्रहरीका अनुसार एउटा गाडी इटहरी चौकबाट भेटिएको हो भने अर्को लौकही क्षेत्रबाट बरामद गरिएको थियो। त्यस्तै, बिर्तामोड र चन्द्रगढी क्षेत्रबाट समेत सवारी फेला परेका छन्। सबै गाडी परित्यक्त जस्तो अवस्थामा भेटिएकाले चालक वा धनीको पहिचान हुन सकेको छैन।
ट्राफिक प्रहरी उपरीक्षक दीपक गिरीले यस्ता सवारी भारतबाट अवैध रूपमा भित्र्याइएका वा चोरीका हुन सक्ने आशंका रहेको बताए। उनका अनुसार नक्कली प्लेट जडान गरेर खुला रूपमा सञ्चालन गर्ने शैलीले संगठित गिरोहको संलग्नता देखाउँछ।
प्रहरीले पछिल्लो समय सीमावर्ती नाकाबाट सवारी तस्करी गरी नेपाल भित्र्याउने र त्यसपछि नक्कली नम्बर प्लेट राखेर प्रयोग गर्ने प्रवृत्ति बढेको जनाएको छ। यसले सवारी चोरी, कर छली र आपराधिक गतिविधिलाई सहज बनाउने जोखिम रहेको अधिकारीहरूको भनाइ छ।
ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठका अनुसार अब भन्सारमार्फत गाडीको वास्तविक स्वामित्व, उत्पत्ति र कागजातको प्रामाणिकता जाँच गरी कानुनी प्रक्रिया अघि बढाइनेछ।
प्रहरीले नागरिकलाई सवारी किनबेच गर्दा कागजातको यकिन गर्न र शंकास्पद सवारी देखिएमा तुरुन्त जानकारी गराउन आग्रह गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment