आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न गरेको अनुरोधप्रति चिकित्सक संघको आपत्ति

डिसी नेपाल
२८ चैत २०८२ १४:०४
52
Shares

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न गरेको अनुरोधप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ।

संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरे पनि अस्पताललाई आफ्नो क्षमता अनुसार आइतबार सेवा दिन भनिएकोप्रति संघ असन्तुष्ट देखिएको हो।

‘नेपाल सरकार मन्त्रीपरिषद्को बैठकद्वारा हप्ताको २ दिन शनिवार र आइतबार सरकारी बिदा दिने निर्णय गरिएको भएपनि अस्पतालहरूले आइतबारको हकमा आफ्नो कार्यभार र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउन अनुरोध गरिएकोमा अस्पतालमा जनशक्ति नथपिएकोले तत्कालका लागि आइतबार ओपीडी सेवा उपलब्ध गराउन सकिंदैन,’ चिकित्सक संघले उल्लेख गरेको छ।

अस्पतालमा आवश्यक जनशक्ति नथपिएको अवस्थामा आइतबार ओपीडी सेवा सञ्चालन गर्न नसकिने स्पष्ट पारेको छ। त्यसैगरी, हप्तामा दुई दिन बिदा दिने व्यवस्था भए पनि सट्टा बिदा उपलब्ध गराउने कुरा व्यवहारमा लागू नभएको संघको दाबी छ।

‘विभिन्न स्वास्थ्य संस्थामा फरक फरक दिन बिदा दिँदा अस्पतालहरूले दिने बिदामा एकरुपता नहुने र स्वास्थ्य सेवा लिने बिरामीहरु अन्योलमा पर्नुका साथै अनावश्यक झन्झट व्यहोर्नुपर्ने हुनाले यसले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुर्याउने देखिन्छ,’ विज्ञप्तिमा उल्लेख छ।

विभिन्न अस्पतालमा फरक-फरक दिन बिदा दिँदा बिरामी अन्योलमा पर्ने र स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *