‘देशभर भव्य मनाइयो ‘राष्ट्रिय मोही दिवस’, पाँच हजार लिटर मोही वितरण’

डिसी नेपाल
२८ चैत २०८२ १७:५४
20
Shares

काठमाडौं। नेपाल डेरी एसोसिएसनको आयोजनामा शनिबार देशभर ‘दोस्रो राष्ट्रिय मोही दिवस–२०८२’ विविध कार्यक्रम गरी मनाइएको छ। ‘मोहीको विश्वास, स्वास्थ्यको विकास : घरघरमा फैलाऔँ अभियानको प्रयास’ सङ्कल्पका साथ सातै प्रदेशमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरू सम्पन्न भएको एसोसिएसनले जनाएको छ।

काठमाडौं स्थित एसोसिएसनको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य नरेशलाल श्रेष्ठले नेपाली दूध तथा दुग्ध पदार्थको निर्यातमा ठुलो सम्भावना रहेको बताए। महासंघको निर्यात प्रवद्र्धन समितिका सभापतिसमेत रहेका श्रेष्ठले भने, ‘गर्मी मौसममा मोहीको खपत बढाउन सके यसले नेपाली दूधको खपतमा योगदान पु¥याउँछ र अर्थतन्त्रलाई टेवा दिन्छ।’

महासंघको कृषि उद्यम केन्द्रका सभापति बिडी बस्नेतले मोही किसानको पसिनासँग जोडिएको वस्तु भएको चर्चा गर्दै यसको प्रवद्र्धन एसोसिएसनले खेलेको भूमिकाको प्रशंसा गरे। रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाईँले पछिल्लो समय मोहीप्रति उपभोक्ताको आकर्षण बढ्नु सुखद पक्ष भएको धारणा राखे।

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले मोही प्रवद्र्धन अभियान सफल भएकोमा खुसी व्यक्त गरे। हाल देशभर दर्जनौँ कम्पनीले मोहीलाई आधुनिक प्याकेजसङ गरेर बिक्री सुरु गरिसकेको र आगामी दिनमा यो संख्या अझै बढ्ने उनले जानकारी दिए। एसोसिएसनका वरिष्ठ उपाध्यक्ष दिपप्रसाद धमलाले यो अभियानलाई निरन्तरता दिइने भन्दै सरकारले पनि यो दिवसलाई अपनत्व लिनुपर्ने माग गरे।

दिवसको अवसरमा शनिबार काठमाडौं उपत्यकाका मुख्य चोक, अस्पताल र सार्वजनिक स्थलहरूमा गरी कुल करिब ५ हजार लिटर मोही निःशुल्क वितरण गरिएको छ।

एसोसिएसनले सातदोबाटोस्थित महानगरीय ट्राफिक कार्यालय लगायतका स्थानमा सर्वसाधारणको उत्साहजनक सहभागिता मोही वितरण गरेको थियो। एसोसिएसनको आह्वानमा सातै प्रदेशका स्थानीय डेरी उद्योगीहरूले पनि आ–आफ्नो क्षेत्रमा निःशुल्क मोही वितरण गरेका छन्।
लुम्बिनी प्रदेशमा भने स्वास्थ्य र सेवालाई जोड्दै विशेष कार्यक्रम आयोजना गरिएको छ। नेपाल स्वयंसेवी रक्तदाता समाज र नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीसँगको समन्वयमा बुटवलस्थित ब्लड बैंकमा १५७औँ नियमित रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल डेरी एसोसिएसनले एक प्रेस विज्ञप्ति जारी गर्दै विदेशी र कृत्रिम पेय पदार्थको विकल्पमा स्वदेशी मोही प्रयोग गर्न आह्वान गरेको छ। ‘मोहीको उपभोग बढ्नु भनेको ग्रामीण किसानले उचित मूल्य पाउनु र आयातमा बाहिरिने अर्बौँ रुपैयाँ जोगिनु हो,’ विज्ञप्तिमा भनिएको छ। एसोसिएसनले सरकारी बैठक, विद्यालयका क्यान्टिन र पारिवारिक उत्सवहरूमा अनिवार्य रूपमा मोही प्रयोग गर्न सबैमा हार्दिक अपिल समेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *