एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा: नेतृत्व व्यवस्थापन कि विभाजनको नयाँ मोड?
काठमाडौं। कुनै समय ‘फलाम’ जस्तै बलियो मानिने नेकपा (एमाले) यतिबेला आन्तरिक विवादको भुमरीमा फसेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको १३ दिने हिरासत बसाई र रिहाइपछिको परिस्थितिमा एमालेभित्रको कलह मत्थर हुनुको साटो उत्कर्षमा पुगेको देखिन्छ।
पार्टीभित्रको यो विवादले केवल कार्यशैलीमा मात्र होइन, नेतृत्वको उत्तराधिकारी र वैचारिक दिशामा समेत ठूलो खाडल सिर्जना गरेको छ।
अध्यक्ष ओलीको बिग्रँदो स्वास्थ्य र उमेरका कारण पार्टीमा ‘दोस्रो पुस्ता’ को नेतृत्व कसले लिने भन्ने होडबाजी अहिले उत्कर्षमा छ। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको अदृश्य शक्ति संघर्ष अहिले तल्लो तहका कार्यकर्तासम्म पुगेको छ। एक पक्षले ओलीको ‘लिगेसी’ धान्ने दाबी गरिरहँदा अर्को पक्षले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने तर्क अघि सारेको छ।
ओली हिरासतमा रहँदा रामबहादुर थापा ‘बादल’ लाई कार्यवाहक नेतृत्व सुम्पिनु नै विवादको मुख्य जड बनेको छ। पूर्व-माओवादी पृष्ठभूमिबाट आएका बादलले पार्टीको परम्परागत पद्धतिभन्दा बाहिर गएर निर्णय लिन खोजेको आरोप पुराना एमाले नेताहरूले लगाएका छन्। “पार्टीको ‘कोर’ टिमलाई बाइपास गरेर एकलौटी ढंगले चल्न खोजियो,” एमालेका एक पदाधिकारीले नाम नबताउने शर्तमा भने।
एमालेभित्रको अर्को ठूलो विवाद नयाँ पुस्तालाई कसरी सम्बोधन गर्ने भन्नेमा छ। सडकमा उत्रिएका युवाहरूको ‘जेनजी’ आन्दोलन र त्यसले उठाएका भ्रष्टाचार विरोधी मुद्दाहरूमा पार्टीका युवा नेताहरू (योगेश भट्टराई, गोकर्ण विष्ट लगायत) को सहानुभूति देखिन्छ भने संस्थापन पक्ष यसलाई ‘विदेशी शक्ति’ को खेल भन्दै दमन गर्ने पक्षमा छ। यो वैचारिक भिन्नताले पार्टीभित्र ठूलो दरार पैदा गरेको छ।
एमालेभित्रको विवादमा बाह्य शक्तिको प्रभाव पनि उत्तिकै देखिएको छ। पार्टीको एउटा तप्का उत्तरसँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्ने पक्षमा छ भने अर्को तप्का बदलिँदो वैश्विक राजनीति र पश्चिमाहरूको बढ्दो प्रभावलाई नजरअन्दाज गर्न नहुने तर्क गरिरहेको छ। समीकरण परिवर्तन र ओली पक्राउको घटनामा पश्चिमा शक्तिको हात रहेको चर्चाले पार्टीभित्र ‘राष्ट्रवाद’ को व्याख्यामा समेत मतभेद निम्त्याएको छ।







डिसी नेपाल







Facebook Comment