जेष्ठ प्राध्यापक समाजको साधारण सभाबाट अध्यक्षमा प्रा.डा. कोइराला निर्वाचित
काठमाडौं। अवकाशप्राप्त प्राध्यापकहरूको संस्था जेष्ठ प्राध्यापक समाजको १२औँ अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ। शनिबार काठमाडौंमा आयोजित साधारण सभाको पहिलो चरणमा महासचिव प्रा.डा. सिद्धि कोइरालाले समाजको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष प्रदीपकुमार भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरे। दुवै प्रतिवेदन सभाले पारित गर्यो।
साधारण सभामा अध्यक्ष डा. विमलकुमार शर्माले अग्रज जेष्ठ प्राध्यापकहरूको सोचले नै समाज आजको अवस्थामा आइपुगेको उल्लेख गरे। डा. शर्माले जेष्ठ प्राध्यापकहरूको हक हितका लागि समाजले गरेका कामको जानकारी दिदैँ प्राध्यापकहरूको स्वास्थ्य उपचारका लागि विभिन्न स्वास्थ्य संस्थाहरूसँग सहकार्य गरेको बताए।
जेष्ठ प्राध्यापकहरूको सम्मान, जिल्लागत रूपमा समाजको विस्तारबारे जानकारी गराउँदै शर्माले आफूहरूले टीमवर्कमा विश्वास गर्दै अगाडि बढेकोले नयाँ कार्यसमितिले अझै राम्रा काम गर्ने विश्वास व्यक्त गरे।
उक्तअवसरमा समाजका संस्थापक अध्यक्ष वसन्तकुमार गौतम, निवर्तमान अध्यक्ष वसन्तलाल श्रेष्ठ, मोहन लोहनी, जयश्री मल्ल, प्रा.डा. दिलीप सुब्बा, प्रा.डा. कुलप्रसाद कोइरालालगायतले नयाँ वर्षको शुभकामना दिँदै समाजले अझै वृहत्त रूपमा काम गर्ने आशा गरे।
दोस्रो चरणमा साधारण सभाले प्रा.डा. सिद्धि कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। सभाले समाजको उपाध्यक्षमा प्रा.डा. अम्वरप्रसाद पन्त, महासचिवमा प्रा.डा. इन्द्रबहादुर कार्की, सचिवमा प्रा.डा. विष्णुशंकर पौड्याल र कोषाध्यक्षमा प्रा.डा. प्रदीपकुमार भट्टराईलाई निर्विरोध चयन गरेको छ।
समाजका नवनिर्वाचित सदस्यहरूमा सुरेन्द्रकेशर अमात्य, निर्मला शर्मा ढुंगाना, निता मल्ल ख्वाउजु, नगेन्द्रराज सिटौला, डा. विमला शाक्य र तिमिला यमी थापा रहेका छन्।







डिसी नेपाल







Facebook Comment