इस्लामावाद वार्ता र बदलिँदो शक्ति समीकरण, के अमेरिका अहिले ‘रक्षात्मक’ अवस्थामा छ ?

डिसी नेपाल
२९ चैत २०८२ ११:३९
1.2k
Shares

इस्लामावाद । अमेरिका र इरानबीचको २१ घण्टा लामो म्याराथन वार्ता बिना कुनै सम्झौता टुङ्गिए पनि यसले विश्व कूटनीतिमा एउटा नयाँ र रोचक बहस छेडिदिएको छ।

सामान्यतया अमेरिकाले सर्त राख्ने र अर्को पक्ष दबाबमा पर्ने परम्परागत शैली यसपटक इस्लामावादमा उल्टो देखिएको छ। भू-राजनीतिक विश्लेषकहरूका अनुसार यसपटकको वार्तामा इरान बढी ‘कम्फर्टेबल’ र अमेरिका सम्झौताका लागि ‘हतारो’ मा देखिएको छ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इस्लालाबाद वार्ताको क्रममा इरानलाई दिइएको प्रस्तावलाई अमेरिकाको ‘अन्तिम र उत्कृष्ट अफर’ (फाइनल एण्ड बेस्ट अफर) भन्दै टेबलबाट बाहिरिनुलाई विज्ञहरूले रणनीतिक हतारोका रूपमा व्याख्या गरेका छन्।

विदेश नीति विज्ञ माइकल कुगेलम्यानका अनुसार, अमेरिका अहिले आफ्ना आन्तरिक राजनीतिक कारण र बढ्दो ऊर्जा संकटका कारण यो युद्धबाट ससम्मान बाहिर निस्कन चाहन्छ।

भान्सको टोलीमा रहेका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति र २१ घण्टासम्मको निरन्तर प्रयासले के देखाउँछ भने- अमेरिकालाई अहिले यो सम्झौताको खाँचो इरानलाई भन्दा बढी छ।

इरानको सरकारी सञ्चारमाध्यम ‘तस्नीम’ ले दाबी गरेअनुसार अमेरिकाले युद्धको मैदानबाट प्राप्त गर्न नसकेका उपलब्धिहरू वार्ताको टेबलबाट ‘खोस्न’ खोजेको थियो।

विशेष गरी हर्मुज जलसन्धि माथिको नियन्त्रण र इरानको परमाणु सामग्री हटाउने अमेरिकी सर्तलाई इरानी प्रतिनिधिमण्डलले दृढताका साथ अस्वीकार गरिदिएको छ।

अमेरिकी विदेश मन्त्रालयका पूर्व वार्ताकार आरोन डेविड मिलर भन्छन्, “इरानसँग अहिले धेरै ‘लेभरेज’ (शक्ति) छ। उनीहरू हतारमा छैनन्। उनीहरूसँग संवर्द्धित युरेनियम छ र उनीहरूले हर्मुज जलसन्धिलाई आफ्नो सुरक्षा कवच बनाएका छन्।”

पाँच चरणसम्म चलेको वार्तामा दुवै पक्षले लिखित प्रस्ताव र जवाफी प्रस्तावहरूको आदानप्रदान गरेका थिए। यसले के संकेत गर्छ भने, एउटा ठूलो सम्झौताको खाका तयार भइसकेको छ, तर केही ‘रेड लाइन’ हरूमा सहमति जुट्न बाँकी छ।

इरानको अडान स्पष्ट छ: हर्मुज जलसन्धिमा आफ्नो सार्वभौमिकता । युद्धको क्षतिपूर्ति र प्रतिबन्धहरूको पूर्ण अन्त्य । परमाणु कार्यक्रममा आफ्नो अधिकारको रक्षा ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमा “अमेरिकाले जितिसक्यो” भन्दै कडा भाषण दिए पनि वासिङ्टनभित्रको वास्तविकता फरक छ। इन्धनको बढ्दो मूल्य र आगामी निर्वाचनको दबाबले गर्दा ट्रम्प प्रशासनलाई एउटा ठोस ‘डिप्लोम्याटिक विन’ (कूटनीतिक जित) को आवश्यकता छ।

इस्लामावाद वार्तालाई ‘न पूर्ण सफल, न पूर्ण असफल’ मान्न सकिन्छ। कूटनीतिको ढोका अझै बन्द भइसकेको छैन, तर अबको मोड अमेरिकाले आफ्नो ‘अन्तिम अफर’ मा कति लचकता देखाउँछ र इरानका मागहरूलाई कसरी सम्बोधन गर्छ भन्ने कुरामा निर्भर रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *