प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

डिसी नेपाल
३० चैत २०८२ २०:२६
56
Shares

तानसेन (पाल्पा)। पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयको समन्वय तथा स्थानीय तहको आयोजनामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगमार्फत क्षयरोगी खोज्ने अभियान सञ्चालन गरिएको हो।

अभियानअन्तर्गत स्वास्थ्यकर्मीको टोली प्राविधिक उपकरणसहित गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा पुगेर परीक्षण गरिरहेका छन्। केही दिन यता जिल्लाको पूर्वखोला गाउँपालिकामा यो अभियान सञ्चालन भइरहेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए। क्षयरोगका बिरामीलाई छिटोछरितो पत्ता लगाउन एआई एक्सरे प्रविधि प्रयोग गरिएको उनले जानकारी दिए।

“सामान्य एक्सरेमा नदेखिने सूक्ष्म समस्या यो प्रविधिले तत्काल पहिचान गर्ने हुनाले उपचार प्रक्रिया सहज भएको छ। त्यसका लागि डिजिटल कम्प्युटर प्रणालीले एक्स–रे विश्लेषण गरेर सम्भावित क्षयरोग पहिचान गर्छ। यसले परम्परागत रूपमा खकार परीक्षण गर्नुअघि नै जोखिम भएका बिरामी छुट्याउन सहयोग गर्छ”, शाखा प्रमुख ढकालले भने।

पालिकाको वडा नं ५ वीरकोट स्वास्थ्य चौकी र वडा नं १ सिलुवा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरी शङ्कास्पद बिरामीको परीक्षण गरिएको छ। विरकोटमा एक सय ८७ जनाको परिक्षण गरिएकामा ३४ जना शङ्कास्पद बिरामी भेटिएको र एक जनाको तत्कालै उपचार सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख ढकालले बताए।

यस्तै, सिलुवामा दुई सय ८० जनाको परीक्षण गरिएकामा ४५ जना शङ्कास्पद बिरामी भेटिएका र तीन जनाको तत्कालै उपचार सुरु गरिएको छ। यहाँ भेटिएका शङ्कास्पद क्षयरोगीको थप अवस्था परीक्षणका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल रिफर गरिएको छ।

एआई प्रविधिले फोक्सोको तस्बिरलाई सफ्टवेयरमार्फत विश्लेषण गर्छ र क्षयरोगको सम्भावनालाई प्रतिशतमा देखाउने गरेको प्राविधिक साझेदार विएनएमटी नेपाल पाल्पा परियोजनाका संयोजक सुदीप पौडेलले बताए।

अरु एक्सरे मेसिनभन्दा एआई प्रविधिले बिरामी पत्ता लगाउन सजिलो भएको यशोधरा आधारभूत अस्पताल कपिलबस्तुका मेडिकल अधिकृत अमूल्यकुमार पाठकले बताए। पालिकाले विभिन्न सङ्घ संस्थाको सहकार्यमा गाउँगाउँ पुगेर क्षयरोगका बिरामी खोज्ने र समयमै उपचार गरी पालिकालाई क्षयरोगमुक्त बनाउन लागिएको वडा नं ५ का वडाध्यक्ष विष्णुकुमार पल्लीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *