मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

डिसी नेपाल
३० चैत २०८२ २१:२१
52
Shares

गण्डकी । मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको तोगा सिटीबीच विगतमा स्थापित मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित गरिएको छ।

दुई स्थानबीच विसं २०४७ मा सांस्कृतिक आदानप्रदान र आपसी सहयोगको उद्देश्यले मितेरी सम्बन्ध गाँसिएको थियो। तर समयक्रममा नेतृत्व परिवर्तन, नियमित समन्वय अभावले दुई दशकयता टुकुचे र तोगा सिटीबीच सम्बन्ध निष्क्रिय बनेको थियो।

राज्यको पुनःसंरचनापछि तत्कालीन टुकुचे गाविस थासाङ गाउँपालिकामा परेको थियो भने तोगासमेत नाम्तोमा गाभिएका कारणले बीचमा समन्वय टुटेको थियो। सुरूआतका केही वर्ष भने सम्बन्ध राम्रो विकास भएको स्थानीयवासीको भनाइ छ। टुकुचे गाउँका स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा जापानस्थित सरोकारवालाको पहलमा पुनः सम्बन्ध सुदृढ गर्ने सहमति भएको हो।

पुनःस्थापित सम्बन्धमार्फत पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान, शिक्षा तथा स्थानीय विकासका क्षेत्रमा सहकार्य गर्ने योजना बनाइएको छ। स्थानीयवासीले यसले टुकुचेको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। टुकुचे गाउँ र जापानको नाम्तो सिटीको तागोकाबीचमा मितेरी सम्बन्धको सांस्कृतिक मिलन उत्सव आइतबार सुरु भएर आज सम्पन्न भएको छ।

टुकुचेमा एक भव्य कार्यक्रमका बीच सुरू कार्यक्रम दुई दिनसम्म सञ्चालन भएको हो। टुकुचे गाउँ सुधार समितिले कार्यक्रम समन्वय गरेको थियो। कार्यक्रममा सहभागी हुन जापानको तोयामाका प्रेफ्रेक्चर सभामुख सिनिचि ताकेदा, नाम्तो सिटीका मेयर मिकियो तानाका सहितको १८ सदस्यीय टोली टुकुचे आएको छ।

टुकुचे र तोगाका बीचमा ३५ वर्षअघि मितेरी सम्बन्ध गाँसिएको थियो। त्यसपछि डेढ दशकसम्म दुई पक्षबीचमा सहयोग आदानप्रदानलगायतका सहकार्य र भ्रमण भए पनि त्यसपछि लामो समय सहकार्य हुन सकेको थिएन।

लामो प्रयासपछि पुनः सम्बन्ध स्थापित भएको उपलक्ष्यमा सांस्कृतिक उत्सव मनाइएको स्थानीय समाजजेवी तथा टुकेचे–तोका मितेरी कार्यसमितिका अध्यक्ष पवन तुलाचनले बाए। ‘धेरै मेहनतपछि सम्बन्ध नवीकरण भएको छ। बीचमा विभिन्न कारणले सम्पर्क टुटेको थियो। अब दुई गाउँ बिचको प्रगाढ सम्बन्धले समग्र देशको समृद्धिमा सघाउ पुग्नेछ’, तुलाचनले भने।

मितेरी सम्बन्धपछि टुकुचेका ७५ भन्दा बढी युवाले जापानमा गएर सीप सिक्ने मौका पाएको वडाध्यक्ष सुरेश थकालीले बताए। यसका साथै टुकुचेको कृषि विकास र पूर्वाधार विकासमा समेत सहयोग पुगेको उनको भनाइ छ।

रोकिएको सहकार्य पुनः अघि बढ्ने वडाध्यक्ष थकालीले बताए। नाम्तोका मेयर मिकियो तानाकाले आगामी दिनमा सम्बन्ध अझ विस्तार हुने र दुईपक्षबीच सहयोग आदानप्रदान गरिने बताए।

कार्यक्रममा सहभागी हुन आएका पाहुनालाई बाजागाजासहित भव्य स्वागत गरिएको थियो। कार्यक्रममा मितेरी सम्बन्ध स्थापना गर्नुहुने समाजसेवी अर्जुनसिंह तुलाचन र नाम्तोका मेयर मिकियोलाई सम्मान गरिएको थियो।

त्यसैगरी कार्यक्रममा समाजसेवी पवन तुलाचन र वडाध्यक्षलाई समेत धवलागिरि महिला बहुउद्देश्यीय सहकारी संस्थाले सम्मान गरेको थियो।

जापानी पाहुना टोलीलाई मुस्ताङको सीमा क्षेत्र घासामा गाउँपालिका अध्यक्ष प्रदीप गौतमलगायतले स्वागत गरेका थिए। उत्सवअन्तर्गत सांस्कृतिक कार्यक्रम, तारो हान्ने खेल, विद्यार्थीहरूको नृत्य प्रदर्शन तथा टुकुचेका विभिन्न गाउँहरूको भ्रमण गरिएको थियो। नाम्तोको टोलीले टुकेचेका विभिन्न विद्यालय, गुम्बा तथा गाउँपालिका भवनको समेत अवलोकन गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *