अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

डिसी नेपाल
१ वैशाख २०८३ १९:०४
2.9k
Shares
काठमाडौं । देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-१६ बालाजु चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित सोही महानगरपालिका-१६ माछापोखरी बस्ने नुवाकोट घर भएका २२ वर्षीय सुदिप कालेकोटेलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३ किलो ३ सय २० ग्राम सहित भारतीय नागरिक ३१ वर्षीय अजय सिंहलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। क्याथे प्यासेफिक एयरको उडानद्वारा हङकङबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त गाँजा सहित पक्राउ गरेको हो।
झापाको दमक नगरपालिका-४ चियादोकानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम  र नगद १३ हजार रूपैयाँ सहित सोही नगरपालिका-९ बस्ने २८ वर्षीय मनिश श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी झापाको दमक नगरपालिका-९ चियाबगान माछाखाँडी बस्ने ३० वर्षीय पपे भन्ने राजु सुनुवारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
सुनसरीको धरान उपमहानगरपालिका-१५ बगरकोटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८ ट्याब्लेट र डिकोलिक ८ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २० वर्षीय विधित विश्वकर्मालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका-२ भानुचोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ट्याब्लेट, ट्रामाडोल ४ ट्याब्लेट र डिकोलिक ८ ट्याब्लेट सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१५ बस्ने २० वर्षीय विकास विश्वकर्मा र २८ वर्षीय विश्व राई रहेका छन्। वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी सुनसरीको, धरान उपमहानगरपालिका-७ बस्ने ३५ वर्षीय शिव विश्वकर्मालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ८० ट्याब्लेट, डाइक्लोमाइन १ हजार ५ सय ९० ट्याब्लेट र नगद ६ हजार ८ सय रूपैयाँ सहित भोजपुर, भोजपुर नगरपालिका-७ बस्ने २१ वर्षीय युजिन श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
नवलपरासी पश्‍चिमको रामग्राम नगरपालिका-८ कुनवार चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५ सय एम्पुल, फेनारगन ५ सय एम्पुल र बुप्रेनोर्फिन ५ सय एम्पुल सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पालिनन्दन गाउँपालिका-६ पडरी बस्ने २३ वर्षीय रामदिप पछिमा थारू र २५ वर्षीय रामबचन यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम समेतबाट खटिएको प्रहरीले युपि ५६ एडब्लु ०९२६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
ललितपुरको ललितपुर महानगरपालिका-५ थसीखेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ५० मिलिग्राम, नगद ८ हजार ५ रूपैयाँ, विदेशी मुद्राहरू र डिजिटल तराजु १ थान सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने झापा घर भएका ३७ वर्षीय दिलिप कुमार गिरी र सुनसरी घर भएका ३७ वर्षीय अजय गुरूङ रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिलिपको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *