रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. २ र ७ को सिमानामा रहेको खाँडादेवी मन्दिर पछिल्लो समय तराई र काठमाडौं उपत्यकाका धार्मिक पर्यटकका लागि आकर्षक तथा नजिकको गन्तव्य बनेको छ। समुद्री सतहबाट करिब १९८५ मिटर उचाइमा अवस्थित यो ऐतिहासिक शक्तिपीठ धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्त्वले भरिपूर्ण स्थलका रूपमा परिचित छ ।
एकैछिनमा घाम लाग्ने र एकैछिनमा कुहिरोले ढाक्ने यहाँको मौसमले खाँडादेवी क्षेत्रलाई झन् मनमोहक बनाएको छ । धार्मिक दृष्टिले मात्र नभई दृश्यावलोकनका हिसाबले पनि अत्यन्त रमणीय रहेको यो स्थान गर्मी छल्न चाहने पर्यटकका लागि उपयुक्त गन्तव्य मानिन्छ । बीपी राजमार्ग बाट नजिकै पर्ने भएकाले तराईबाट काठमाडौं आवतजावत गर्ने यात्रुहरूले पनि सहजै यहाँ पुगेर दर्शन गर्न सक्छन् ।
खाँडादेवी मन्दिरलाई सदियौँदेखि शक्तिपीठका रूपमा पूजिँदै आएको छ । रामेछाप जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित यस मन्दिरमा विशेषगरी चैते दशैँ र बडादशैँका बेला ठूलो मेला लाग्ने गर्दछ ।
त्यस समयमा पञ्चवली दिने भिड लाग्दछ । वर्षैभरि रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा, दोलखा लगायतका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थान र काठमाडौं उपत्यकाबाट हजारौँ भक्तजन दर्शनका लागि पुग्ने गरेका छन् । दशैँ बाहेक अन्य समयमा पनि पूजा, वली र पञ्चवली लिएर आउनेहरु त्यतिकै हुन्छन् ।
स्थानीय जनश्रुतिअनुसार रोशी खोला र सुनकोशी नदीको संगमस्थल नजिक देवीले शुम्भ–निशुम्भ नामक राक्षसको वध गरी दुर्गा नदीमा खड्ग पखालेपछि उक्त खड्ग खाँडादेवी क्षेत्रमा गाडिएको विश्वास गरिन्छ । त्यसपछि देवी कालीञ्चोकतर्फ अन्तरध्यान भएको कथन पाइन्छ ।
खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङका अनुसार पछिल्लो पटक विक्रम संवत् १५१५ माघ १५ गते खाँडादेवीको शिला पत्ता लागेकोमान्यता रहेको छ । मन्दिरमा रहेको विसं १५७३ सालमा चढाइएको घण्टाले पनि यसको प्राचीनता पुष्टि गर्दछ । यो मन्दिरको उतपत्ति भने मानव सभ्यताको विकासँग भएको अनुमान छ ।
नेपाल एकीकरणका क्रममा राजा पृथ्वीनारायण शाहले पूर्वी किल्ला सुदृढ गर्न सिन्धुलीगढी पछि खाँडादेवी क्षेत्रमा सहायक गढी स्थापना गरेको इतिहास छ।
अङ्ग्रेजसँगको युद्धअघि देवीसँग आशीर्वाद लिएको र विजयपछि शिलालाई राजधानी लैजान खोज्दा विभिन्न स्थानमा अलप भएको जनश्रुति पनि प्रचलित छ ।
शिला अलप भएर त्यहीँ उत्पत्ति भए पछि पृथ्वीनारायण शाहले नै खाँडादेवीलाई बोका, मंगलादेवीलाई भाले, भैरवीलाई राँगा, कमलामाईलाई परेवा र गणेशलाई हाँस बली दिने प्रचलन चलाएका र त्यसको लागि दरबारबाट नै सोही समयदेखि भेटी आउने गरेको भनाइ छ ।
खाँडादेवी क्षेत्र धार्मिक मात्र नभई पर्यटकीय दृष्टिले पनि अत्यन्त आकर्षक छ । यहाँबाट दक्षिणतर्फ फैलिएको महाभारत पर्वत शृङ्खला, नागबेली परेको सुनकोशी र तामाकोशी नदी र वरपरका टारहरू तथा उत्तरतर्फका हरिया डाँडाले मन लोभ्याउने दृश्य प्रस्तुत गर्छन् । लालीगुराँसले राताम्य हुने डाँडाकाँडा, घना बस्ती र स्थानीय गाउँहरूको भ्रमणले यात्रालाई थप स्मरणीय बनाउँछ ।
सो मन्दिरमा पुग्नु अघि बिपी राजमार्गमा नै पर्ने कुशेश्वर महादेव मन्दिर तथा खाँडादेवी दर्शन गरेर थप एक दिन समय निकाल्दा पुगिने शैलुङ र अर्काे एक दिन थप्दा पुग्न सकिने दोलखा भीमशेन र कालिञ्चोक यस क्षेत्रका थप पर्यटकीय गन्तव्य हुन् ।
काठमाडौंबाट करिब १०० किलोमिटर दूरीमा रहेको खाँडादेवी पुग्न बनेपा–धुलिखेल–सिन्धुली हुँदै बर्दिबास जोड्ने बीपी राजमार्ग प्रयोग गर्न सकिन्छ । धुलिखेलबाट भकुण्डे बेसी मूल्कोट, सित्खा, भिरपानी हुँदै गोगनपानी निस्किएर खाँडादेवी पुग्न सकिन्छ । तराइबाट आउँदा पनि खुर्काेट हुँदै सित्खाको पुल तरेर मन्दिर पुगिन्छ । जिल्ला सदरमुकाम मन्थलीबाट करिब २१ किलोमिटरको दूरी पार गरेपछि पनि खाँडादेवी पुग्न सकिन्छ ।
यो मन्दिरमा बडादशैँ र चैतेदशैँमा विशेष सरकारी पूजा हुने गर्दछ । खाँडादेवी विकास कोषले सो पूजा गर्दै आएको छ । धार्मिक आस्था, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यको संगमका रूपमा रहेको खाँडादेवी मन्दिर पछिल्लो समय आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण केन्द्र बन्ने सम्भावना बोकेको छ । विशेषगरी तराई र काठमाडौं उपत्यकाका श्रद्धालुका लागि छोटो दूरीमै पुग्न सकिने धार्मिक गन्तव्यका रूपमा यसको महत्व दिनानुदिन बढ्दै गएको छ ।







डिसी नेपाल







Facebook Comment