शिक्षामन्त्री सस्मित पोखरेलको पारदर्शी राजनीतिबाट सिकौं

सुरेश भट्ट आश्रिन
११ वैशाख २०८३ ११:५७

नेपाली राजनीतिमा सधैं उठिराख्ने एउटा जबर्जस्त प्रश्न बन्थ्यो नेताहरू पारदर्शी भएनन्। उनीहरुले आफ्नो सम्पत्ति विवरण लुकाए अथवा अरु कोहि आफ्ना-आफन्तको नाममा लुकाएर राखे। यस्तै-यस्तै आरोप र प्रत्यारोप बिच वितेको तीसौँ बर्ष नेपाली राजनीति कर्मकाण्डी जस्तै तौरतरिकाले चलिरह्यो।

देशलाई अहिले इमानदार नेता मात्र होइन, बेइमान बन्न नसक्ने प्रणालीको खाँचो छ। नेपालमा लोकतन्त्रको अभ्यास व्यक्ति केन्द्रित हुँदै जाँदा हामीले अभ्यास गर्दै आएको लोकतान्त्रिक मूल्य मान्यता र संस्थागत प्रणालीभन्दा पात्रको महत्त्व बढेको छ।

राजनीतिक दलहरुमा आन्तरिक लोकतन्त्र कमजोर रहँदा संस्थागत सुधार र पारदर्शिताको अभाव भोग्दै र देख्दै आएकै हो। तथापि लोकतन्त्रको सार जोगाउन नागरिक मात्रै लोकतान्त्रिक भएर पुग्दैन। लोकतन्त्रको प्रणालीगत सुधारमा व्यापक बहस र पैरवी हुनु उत्तिकै आवश्यक पनि छ।

आजको हाम्रो राजनीतिले पात्रको जयजयकार गर्ने गैर राजनीतिक चरित्र भएको नागरिक खोजेको छैन। राजनीतिक प्रणालीको रक्षा गर्ने राजनीतिक चेतनासहितको सडकको प्रतिपक्ष खोजेको छ।

राजनीतिमा व्यक्ति प्रभावशाली, शक्तिशाली र लोकप्रिय भएर राज्यका संस्थागत संरचना र प्रणालीहरु बलियो हुँदैनन् बरु झनै एकाङ्गी , निरंकुश र एकात्मकवादी चिन्तनबाट देश चल्छ।

जबसम्म त्यस्तो पात्रको मोहबाट मुक्त भएर लोकतन्त्रको आधारभुत स्तम्भहरुलाई लाभको पदमा पुगेकाहरु प्रति पारदर्शी, जवाफदेही र राजनीतिक चरीत्र भन्दा बाहिर जानसक्ने शंकाको घेरामा राखेर नियमनको तराजुले तौलिन सकिन्न तबसम्म नागरिकको चेतनामाथी प्रश्नहरु उठिरहन्छन्।

नेपालको राजनीतिक प्रणाली र नेतृत्वमा विश्वसनीयता र सिद्धान्तको अभाव पहिले देखिनै खड्किरहेको छ। जसका कारण देश विकास र स्थायित्वतर्फ अघि बढ्न सकेको छैन। खासगरी नेतृत्वको पारदर्शी जीवनशैलीकै कुरा छ।

नेपाली राजनीति प्रती खास-खास समयमा विशेष-विशेष कुराहरू उठ्दै आएको छ। माओवादी सशस्त्र जनयुद्ध र ६२/६३ को जनआन्दोलन पश्चात सत्तामा पुगेका नेताका राजनीतिक अकर्मण्यता, सत्ता पुस्तान्तरण र वैकल्पिक राजनीतिको माग।

०६९ ताका हामीले वैकल्पिक राजनीतिको जग हाल्यौ। जसकाे नेतृत्व स्व. उज्वल थापाले गर्नुभएको थियो। तत्कालीन समयमा हालका शिक्षामन्त्री सस्मित पोखरेलसँग यो पंक्तिकारको झोछेँमा भेट भएको थियो।

अति मिजासिलो, नम्र बोली र मितव्ययी व्यबहार गर्ने उनी हामीसँगै वैकल्पिक राजनीतिको मसाल बोलेर मैदानमा निस्किए। बोलचालीमा हामी दाजुभाइ हौं अहिलेपनि। तर ओहोदाको हिसाबले उनी माननीय शिक्षामन्त्री भए।

सस्मित भन्ने गर्थे-राजनीति र वैकल्पिक संचार नीति एक अर्काका परिपुरक हुन्। राजनीति वैकल्पिक भयो तर प्रचार भएन वा प्रचार भएर पनि परम्परागत नै भयो वा प्रचार भयो र राजनीति वैकल्पिक भएन भने पनि त्यसको अर्थ हुँदैन।”

हामीले गर्ने राजनीतिलाई पारदर्शी र राजनीतिक जीवनलाई खुल्ला किताब जस्तो बनाउनुपर्छ उनी भन्थे। तर आज उनै सस्मितले आफ्नो र पैत्रिक सम्पत्ति सार्वजनिक गर्दा पनि आलोचना र पारदर्शिताको बारे प्रश्न उठाइएका छन्।

काठमाडौँमा हुर्केका पोखरेलले आफ्नो प्रारम्भिक र माध्यमिक शिक्षा संयुक्त राज्य अमेरिकाको ओकाटन हाई स्कुल र डियाब्लो भ्याली कलेजबाट पूरा गरेका थिए। उनी कानूनमा करियर बनाउन नेपाल फर्किए पश्चात् काठमाडौं विश्वविद्यालयबाट बिए एलएलबी गरे।

हाल उनी त्रिभुवन विश्वविद्यालयमा नीति, सुशासन र भ्रष्टाचार विरोधी अध्ययनमा स्नातकोत्तर गरिरहेका उनै सस्मित कसरी अपारदर्शी हुन् सक्छन् भन्ने प्रश्न पनि कम गहकिलो छैन।

वर्तमान प्रधानमन्त्री बालेन साह काठमाडौंको मेयरको उम्मेदवार हुँदादेखि नै सस्मित बालेनको सहयोगी थिए। बालेन कै लौरो लिएर प्रदेश सभाको निर्वाचनमा देशैभर स्वतन्त्र उम्मेदवार उठाउने तयारी सस्मित पोखरेलको नै थियो। समय अभावको कारण सफल हुन् सकेन।

यद्यपि बालेन काठमाडौ मेयर भएपछि पोखरेल नगर योजना आयोगमा शिक्षा तथा शहरी योजना सल्लाहकारका रुपमा काम गरेका थिए। पछि बालेन-रास्वपा एकतासंगै पोखरेल पनि निर्वाचनमा होमिएर कांग्रेसका महामन्त्री प्रदीप पौडेलसहित एमालेका ईश्वर पोखरेल र राप्रपा नेता कमल थापालाई पछि पार्दै जित हाँसिल गरेपछि एकाएक उनको चर्चा चुलियो।

सुशासन पारदर्शिता र डेलिभरीलाई वैकल्पिक राजनीतिको मियो मानेर राजनीतिमा छिरेका २९ वर्षीय सस्मितका बुबा रमेशकुमार पोखरेल नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको पूर्व कर्मचारी हुन्। हाल सस्मितले सार्बजनिक गरेको सम्पत्तिको धेरै जसो स्रोत बुबाको पारिश्रमिकको कमाइ हो।

सस्मित भन्छन्-तत्कालीन अबस्थामा बुबाले आनाको ७० हजारमा किनेको जग्गा आज आनाकै ७० लाख पर्ने भएको छ। घर जग्गा सबै बुबा आमाको नाममा छ। मेरो नाममा केवल सानिमा बैंक लिमिटेडमा २ लाख ४८ हजार १९८ रुपैयाँ, एनआईसी एसिया बैंकमा १ लाख १९ हजार २९६ रुपैयाँ ८७ पैसा र ३९ लाख ६५ हजार परेको BWD Dolphin Car 2025 मोडेलको ७० किलोवाट क्षमताको गाडी छ। हिमालयन बैंकबाट २०८२ जेठमा लिएको २५ लाख रुपैयाँ ऋण लिएको छु।’

बुबाको बुबा (हजुरबुबा) को कमाई त्यसमा पनि पुर्ख्यौली रुपमा स्थानन्तरण हुँदै आएको सम्पतिलाई एक जनाको सम्पतिका रुपमा जोड्नु न्याय संगत हुँदैन। बैधानिक उसको सम्पत्ति हुनका लागि उसकै नाममा हुनुपर्ने हुन्छ। २९ बर्षका यी तन्नेरी मन्त्रीको यत्रो सम्पत्ति भनेर मिडियाबाजी भएपछि एक दशकदेखिको मित्रको हिसाबले सस्मितसँग खोजी निन्दा गर्दा उल्लेखित बिबरण फेला परेपछि केरकार गर्न बान्छनीय लागेन।

हाम्रो सामाजिक चेतना अझैसम्म पनि परपीडक नै छ। जसो गरेपनि सुखै नपाइने। कुनै न कुनै बहानामा लाल्छना या दोष लगाइरहनु पर्ने। हामीलाई यथार्थ चाहिएको छैन। हलुका टिप्पणी गरेर अतिरञ्जनामा नै रमाइलो गर्नु दैनिक जस्तै भइसक्यो।

आजको एक्काइसौँ शताब्दीको वैकल्पिक राजनीति गर्ने सस्मितहरूले राजनीतिको मुल मर्म भनेको सेवा हो र जे गर्छु नागरिकको हितको लागि गर्छु भन्ने भावनाको विकास गर्न जरुरी छ। मलाई तोकिएको जिम्मेवारी पुर्ण निष्ठाका साथ पालना गर्न र निर्दिष्ट लक्ष्य हाँसिल गर्न म प्रयत्नशील हुनेछु भन्ने भावसहित काममा एकनिष्ठता हुनु नै वैकल्पिक राजनीतिको अर्को मर्म हो।

आफूलाई तोकिएको बाहेक अरुका बारेमा सकारात्मक सुझाव दिने भन्दा नकारात्मक टिप्पणी गर्ने र अनावश्यक हस्तक्षेप गर्ने छैन भन्ने कुरालाई आत्मसात गर्न जरुरी छ। स्वयं अनुगमन र आत्ममुल्यांकन वैकल्पिक राजनीति गर्नेहरूले गर्नुपर्छ।

वैकल्पिक राजनीति गर्नेहरूले पारदर्शितालाई हतियार बनाएर केबल नकारात्मक राजनीतिक एवं नोकरशाही व्यवहारविरुद्ध लड्न सकिने साधन मात्र ठान्दै आएका छन्। पारदर्शिता लोकतान्त्रिक सत्ता सञ्चालनसम्बन्धी दृष्टिकोण पनि हो।

पारदर्शिता खुला समाजको त्यो स्वरूप हो, जहाँ कुनै पनि किसिमको सार्वजनिक क्रियाकलाप र सार्वजनिक क्षेत्रका व्यक्तिको व्यक्तिगत आचरणलाई सर्वसाधारणको परीक्षणको विषय बनाइन्छ र त्यस्तो क्रियाकलाप तथा आचरणलाई लुकाइँदैन। लुकाइनु हुँदैन।

प्रिय सस्मित , पारदर्शिता वैकल्पिक राजनीतिको आधारभूत मान्यता हो। पारदर्शिताको आरम्भ पहिला आफैबाट सुरु गरेका छौ, आफ्नो माताहतको कार्यालयको कामकाज पनि पारदर्शी बनाउन सफल बन शुभकामना।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *