भाइरल भिडियो प्रकरण: सांसद विश्वराज पोखरेलद्वारा सार्वजनिक माफी
काठमाडौं। हालै सामाजिक सञ्जालमा भाइरल भएको एक विवादास्पद भिडियोलाई लिएर सांसद विश्वराज पोखरेलले सार्वजनिक रूपमा माफी मागेका छन्।
भिडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना र विभिन्न टीकाटिप्पणी भइरहेको सन्दर्भमा सांसद पोखरेलले शनिबार एक विज्ञप्ति जारी गर्दै आफ्नो गल्ती स्वीकार गरेका हुन्। उक्त भिडियोले सामाजिक मर्यादा र जनप्रतिनिधिको गरिमामा आँच पुर्याएको भन्दै जनस्तरबाट व्यापक विरोध भइरहेको थियो।
पोखरेलले विद्यालयका प्राध्यापकले स्वागत गर्न नआएको भन्दै दिएको अभिव्यक्तिको विरोध भएको छ।
ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआईजी समेत रहेका पोखरेलले गृह जिल्लाको एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएका थिए। आफ्नो स्वागतमा नआएकोप्रति रुष्ट हुँदै प्रधानाध्यापकलाई पोखरेलले भनेका थिए, ‘म आउँदैछु भन्दा तपाईं निस्किनुपर्छ । तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ।’
आफूलाई माननीयका रुपमा अर्थ्याउँदै पोखरेलले ‘जिल्लाको एउटा माननीय आउँदा हेडमास्टर भित्र चुप लागेर बस्ने?’ भन्दै थर्काएका थिए।
भिडियो भाइरल भएपछि उनको कार्यशैली र व्यवहारमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा विभिन्न तर्क-वितर्कहरू उत्पन्न भएका थिए। विशेष गरी जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस्तो अपेक्षा नगरिएको भन्दै आम नागरिक र विभिन्न सरोकारवाला निकायले गम्भीर आपत्ति जनाएका थिए। यसले राजनीतिक वृत्तमा समेत तरंग ल्याएको थियो।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो स्पष्टीकरणमा सांसद पोखरेलले भनेका छन्-उक्त घटना परिस्थिति र तत्कालको आवेगका कारण हुन पुगेको हो। उनले आफ्नो अभिव्यक्ति वा व्यवहारबाट कसैको मानमर्दन हुन गएकोमा आफूलाई अत्यन्तै दुःखी तुल्याएको र त्यसप्रति गहिरो खेद प्रकट गर्दै बिनाशर्त माफी मागेका छन्।
जनताको प्रतिनिधि भएको नाताले सधैँ मर्यादित र जिम्मेवार हुनुपर्ने आफ्नो दायित्वप्रति आफू सचेत रहेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
जनप्रतिनिधिको पद, प्रतिष्ठा र गरिमा कायम राख्न सबै सचेत हुनुपर्ने भन्दै यस घटनाले राजनीतिक क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ। सांसद पोखरेलले माफी मागेसँगै यो प्रकरणले एउटा नयाँ मोड लिएको छ।
तथापि, जिम्मेवार ओहोदामा बसेका व्यक्तिहरूले आफ्नो बोली र व्यवहारमा सधैँ संयमता अपनाउनुपर्ने पाठ यो घटनाले पुनः स्मरण गराएको छ। उनको यस कदमलाई कतिपयले सकारात्मक रूपमा लिएका छन् भने कतिपयले अझै पनि आलोचना जारी राखेका छन्।








डिसी नेपाल







Facebook Comment