दिल्लीको छोटो यात्रा (भाग २)

कपिल लोहनी
१९ वैशाख २०८३ ८:०२

वैशाख महिनाको शुरुवात भइसकेको भए पनि यतिबेलासम्म दिल्ली त्यति तातिसकेको भने थिएन। दिउँसोको समयमा त्यस्तै ३८-३९ डिग्री सेल्सियस जति मात्र तापक्रम पुगेको अवस्था।

बिहानबेलुका सित्तल नै थियो। हावा चल्दा झनै आनन्दको मौषम। तर हावामा धुलो र प्रदूषणको मात्रा भने निकै धेरै। दिल्ली पुगेको भोलिपल्टदेखि नै आँखा पोलेको र घाँटी खस्खसाएर हल्का खोकी लागेको जस्तो भान हुन थाल्यो।

दिल्लीको वायु प्रदूषणको मात्रा विश्वमा कै सबैभन्दा बढी हुने क्षेत्रमध्ये पर्दछ। दिल्लीमा खासगरी जाडोयाममा यानी नोभेम्बरदेखि फेब्रुअरी महिनामा बढी वायु प्रदूषण हुने गर्दछ।

जाडोको समयमा हुस्सु लाग्ने र जाडोको कारण न्यानोसँग बस्नको निम्ति बालिने आगो र अन्य सामग्रीले पनि प्रदूषण बढाउने काम गर्दछन्।

यसको साथै विशाल शहर दिल्लीमा लाखौं सवारी साधनको ओहोरदोहोर, दिल्लीका सेरोफेरोका प्रदेशहरूमा कृषकहरूले खेतमा आगो लगाएर सुख्खा घाँस र धान तथा गहुँको बाली काटेपछि बाँकी भएका ठूटाहरू जलाउनु, गाउँ क्षेत्रमा खाना पकाउन दाउरा र गुइँठाको प्रचलन, बढ्दो विद्युत खपतका कारण डिजेल जेनेरेटरको उपयोग, शहरीकरण र बढ्दो निर्माणका कारण पैदा हुने धुलो, फोहरमैला जलाइनु आदिले गर्दा पनि प्रदूषण बढ्ने गर्दछ। तर हामीले हालै गरेको दिल्ली भ्रमणको बेला भने गर्मी बढ्दै गरेर आकाश खुला हुन थालेकोले जाडोको दाँजोमा प्रदूषण निकै घटिसकेको थियो।

काठमाडौं पनि प्रदूषणको हिसाबले निकै खतरनाक अवस्थामा पुगेको शहर हो। कप आकारको खाल्डो काठमाडौं उपत्यकामा कच्ची सडकको धुलो र मोटरगाडीको धुवाँका साथै यो मौषममा डढेलोको कारण पनि धुवाँ भरिएर प्रदूषणको मात्रा डरलाग्दो तवरले बढ्ने गर्दछ।

गत हप्ता वायुको गुणस्तर इन्डेक्समा ह्रास आएर २५५ पुगेपछि काठमाडौँ विश्वकै प्रदूषित शहर शहर बनेको छ । चैते हुरी र पानीले वर्षमा एकचोटी काठमाडौंको धुवाँधुलो बढारेर लग्ने गरेपनि हाल केही वर्षदेखि जलवायु परिवर्तनले गर्दा माघे झरी र चैते हुरी जस्ता मौषमी चक्रहरू निकै प्रभावित हुने गरेका छन्।

बिहान उठेर लेखपढ पश्चात् हामी बसेको अपार्टमेन्टको छतमा गएर बिहानीको हिँड्डुल गर्नु नै उत्तम ठानें। बिहानीको चिसो हावाको साथै पूर्वबाट घाम उदाउँदै गरेको दृश्यको आनन्द लिन र पर परसम्मको दृश्य हेर्न पाउँदा निकै खुशी महसुस भयो। सूर्य उदाउने दिशा पूर्व हुने भएकोले अन्य दिशा पहिल्याउन सजिलो भइहाल्यो। नत्र नयाँ ठाउँमा दिशा ज्ञान हुन पनि गाह्रो पर्दछ।

हामी बसेको वसन्त कुञ्जबाट उत्तर–पश्चिममा वायुमा धुलो कम भएको बेलामा इन्दिरा गान्धी र पालम विमानस्थल टड्कारै देखिँदो रहेछ। पूर्वतर्फबाट लहरै विमानहरू अवतरण गर्न हाम्रै छतको नजिकबाट विमानस्थलतिर जाँदा रहेछन्।

न्यूजिल्याण्डको ठूलो शहर अकल्याण्डमा पनि दाजुको घरको बार्दलीबाट यसरी नै विमानहरू नजिकबाट अवतरण गर्न लागेको दृश्य हेर्न पाइन्थ्यो। यस्तोमा समय बितेको पत्तै नहुने। हाम्रो वासस्थानबाट विमानस्थल पुग्न मोटरगाडीमा २० मिनेट जति लाग्दो रहेछ।

विमानस्थल र हाम्रो अपार्टमेन्ट रहेको इलाकाको बीचमा घना जंगलको एक घेरा रहेको पाइयो। सो वनमा नील गाई तथा अन्य केही जनावर र चराचुरुङ्गी पनि छोडिएको र त्यहाँ दिल्लीवासीहरू बिदाको बेलामा घुम्न जाने गरेको कुरा पनि थाहा भयो।

सो वनलाई सञ्जय वन भनिँदो रहेछ। धार्मिक रूपले महाभारतको सञ्जयको नामबाट त्यो मानव निर्मित वनको नामाकरण भएको भन्दा पनि इन्दिरा गान्धीका कान्छा छोरा सञ्जय गान्धीको नामबाट सो नाम राखिएको हो कि जस्तो लाग्यो।

सन् १९४६ मा जन्मेका सञ्जय गान्धी भारतका युवा नेता तथा लोकसभाको सदस्य थिए र उनलाई भविश्यका प्रधानमन्त्रीको रूपमा पनि हेरिन्थ्यो। तर हवाइजहाज उडाउन सौखिन उनको सन् १९८० मा दिल्लीको फ्लाइङ क्लबबाट क्याप्टेन सुभाष सक्सेनाको साथमा सानो विमानमा उडेर हवाई अभ्यास गर्दा गर्दै दिल्लीको बीच शहरको कुटनीतिक नियोगहरू रहेको क्षेत्रमा नै विमान दुर्घटना हुँदा मृत्यु भयो।

हामी बसेको अपार्टमेन्ट क्षेत्रका धेरै घरहरूको छतमा गर्मीयाममा साँझबिहान त्यहाँका वासिन्दाहरू कसरत गरिरहेको देखिन्थ्यो। कतिपयले त छतमा बगैँचा पनि बनाएका। कयौँ नेपालीहरू पनि यो क्षेत्रमा बसोवास गर्दा रहेछन्।

भर्खरै बन्दै गरेको भएर तल सडक-गल्लीहरू कालोपत्रे भइ नसकेको र निर्माण सामग्रीहरू सडकमा नै राखिएकाले धुलाम्य थिए। त्यसैले पनि सडकमा हिँड्ने जाँगर नचल्ने । सायद एकाध वर्षमा त्यो इलाकाको कायापलट हुनेछ।

नास्ताको समयमा सबै जना सँगै बसेर गफमा भुल्यौं। आज आइतबार भएकोले कार्यालयहरू बिदा। मेरा आफन्तले आज मलाई पुरानो दिल्लीस्थित चाँदनी चोकमा घुमाउन लग्ने भए। दिउँसो गर्मी हुन्छ भनेर बिहान नै हामी त्यसतर्फ रवाना भयौं।

हाम्रो वासस्थानबाट एक घण्टाको बाटो रहेछ। दिल्लीमा सवारी चालकहरूले ट्राफिक नियमको पालना ज्यादै कम गर्ने र हरन भने पल पलमा अनावश्यक तवरले बजाएर ध्वनी प्रदूषण गर्ने। एक प्रकारले हामी जस्ता कम जनसंख्या भएका मुलुकका मानिसको हंसले ठाउँ नै छोड्ने।

यसपाली मलाई सबैभन्दा बढी घुम्न मन लागेको ठाउँ पुरानो दिल्लीको दरियागञ्जमा प्रत्येक आइतबार लाग्ने पुस्तक मेलास्थल थियो। त्यसैले लालकिल्ला र चाँदनी चोकको बीच भागमा रहेको एक नयाँ मल भित्रको पार्किङ स्थलमा सवारी साधन पार्क गरेर बाहिरियौं।

मलको बाहिर निस्कना साथ मानव चालित रिक्सा र अटो रिक्सा चालकहरूले तान्न शुरु गरिहाले। हामीले हिँडेर नजिकका ठाउँहरू हेर्न जान लागेको कुरा बतायौं। त्यहीँ सँगैको एक प्रख्यात पुरानो पसल (जलेबीवाला) मा दुध, जेरी र रावडी अर्डर गर्‍यौं। ती तीनै खाद्य वस्तुको स्वाद अद्वितीय थियो।

ज्यादै गुलियो भएकोले मिठो भए पनि चाखेको जस्तो गरेर मात्र खाएँ। अनि चाँदनी चोकभित्रको मुल बाटोमा गयौं। केही वर्षदेखि त्यहाँ मोटरगाडी जान बन्द गरिएको छ। तर पनि रिक्सा, साइकल र मान्छेको उच्च चापले गर्दा ज्यादै भीड र सो ठाउँ केही फोहर पनि देखिएको, त्यस माथि दिउँसोको गर्मी बढ्दै गएको अवस्था।

युनेस्को विश्व सम्पदा क्षेत्र अन्तर्गत पर्ने लाल किल्लाबाट निकै नजिकको यो ऐतिहासिक बजार क्षेत्रको इतिहास ज्यादै पुरानो छ। मुगल वादशाहहरूको पालामा र वृटिश शासन भन्दा पहिले सम्म दिल्लीको मुख्य बजार र व्यापारिक क्षेत्र यही नै थियो।

त्यतिबेलाका ठूला व्यापारी तथा धनाढ्यहरू विशाल हवेली बनाएर चाँदनी चोक इलाकामा नै बस्ने गर्दथे। तर आज आएर ती मध्ये कतिपय हवेली भत्काएर नयाँ घर बनेका छन् भने कतिपय भग्नावशेषमा परिणत भएका छन्।

केही पुराना हवेलीलाई भने पुरानो समयको संस्कार पस्कने हिसाबले बुटिक होटेलमा परिणत गरिएको छ। त्यस्ता होटेलमा पुराना खान्दानी खाना खान तथा नाचहरू हेर्न तथा पुरानै राजर्षी ठाँटमा बस्न समेत पाइन्छ। भारतमा वृटिश राजको शुरुवात भए पछि भने बेलायतीहरूले आजको प्रमुख प्रशासनिक क्षेत्र (राष्ट्रपति भवन, संसद) लगायत बजारको रूपमा भव्य कनट प्लेसको निर्माण गरे।

दिल्लीको लाल किल्ला नजिकको भव्य दिगम्बर जैन लाल मन्दिरलाई बाहिरबाटै नियालेर आनन्द लियौं। यसको मौलिक वास्तुकला र रातो रङले मन निकै मोहित तुल्यायो।

दिल्लीको चाँदनी चोक होस् या भारतभरका विभिन्न ठाउँमा रहेका मठ, मन्दिर, विहार र मस्जिद तथा स्मारकहरू नै किन नहोउन् सबै आआफ्ना मौलिकता र संस्कार अनुरुपका उत्कृष्ट कलाकारिताले भरिपूर्ण हुन्छन्।

चाँदनी चोक घुम्ने क्रममा भारत कै विशालमध्येको भव्य जामे मस्जिद पनि बाहिरबाटै हेर्‍यौं। मस्जिदको मुख्य भागमा जानको निम्ति निकै खुड्किलाहरू चढ्नु पर्ने। केही समय अघि मात्र इश्लाम धर्मावलम्वीहरूको रमजान र इद सकिएकोले होला सो मस्जिदको बाहिर सेवैँ, विभिन्न प्रकारका खजुरहरू र काजु, किसमिस, बदाम तथा अन्य सुख्खा फलहरूको चुली बनाएर विक्री भइरहेको थियो।

मुगल वादशाह समेत गएर नमाज पढ्ने यो एक अद्वितिय मस्जिद हो। मुगल साम्राज्यको समयमा दिल्ली र लाहोर राजधानीको रूपमा चिनिन्थे। त्यसैले हाल पाकिस्तानमा अवस्थित निकै पुरानो शहर लाहोरमा पनि यस्तै भव्य जामे मस्जिद छ।

यी मस्जिदहरूको निर्माण गर्दा ज्यामितिको ठूलो प्रयोग गरिएको थियो। यी प्रत्येक मस्जिदको चारै तिर ठडाईएका विशाल स्तम्भहरू र मस्जिदको मुख्य भवनको गुम्वसशैलीको छाना निकै मेहनतको साथ बनाइएको थियो।

चाँदनी चोक कै पश्चिमी क्षेत्रमा वादशाह शाहजहाँकी रानी फेतेहपुरी वेगमद्वारा निर्माण गर्न लगाइएको सिंगमर्मरको भव्य फतेहपुरी मस्जिदको पनि अवलोकन गर्‍यौं।

चाँदनी चोकमा विभिन्न धार्मिक स्थल हेर्ने सिलसिलामा यसको बीचतिर रहेको गुरुद्वारा शिषगञ्ज साहिबको पनि दृश्यावलोकन गर्‍यौं। शिख धर्मावलम्वीहरूको यो पुरानो गुरूद्वारा पनि निकै भव्य थियो।

भक्तजनहरूको भीड थियो भने यसको बाहिरी भागमा बटुवा तथा रिक्सा चालकहरूको निम्ति पानी पिउने र बोतलमा पानी थाप्ने बन्दोवस्ती पनि थियो। शिख गुरूद्वाराहरूमा लङ्गरको नामले प्रख्यात आम जनतालाई खुवाउने चलन पनि हुन्छ।

वृटिश शासनको समयमा चाँदनी चोकमा केही ठूला चर्चहरूको पनि स्थापना भयो। ती मध्ये चाँदनी चोकको पश्चिममा अवस्थित सेन्ट स्टेफेन्स चर्च, उत्तरमा अवस्थित सेन्ट मेरीज चर्च र दक्षिणमा अवस्थित सेन्ट्रल ब्याप्टिस्ट चर्च प्रमुख हुन्।

चाँदनी चोकमा प्रख्यात गौरीशंकर मन्दिर लगायत थुप्रै हिन्दू मन्दिरहरू पनि छन्। यसरी चाँदनी चोकभित्र विभिन्न धर्मावलम्वीहरूका मन्दिर र धार्मिक केन्द्रहरू निकै पहिले देखि नै छन्।

दिल्लीमा मुगल साम्राज्य वा वृटिश राजले समेत हिन्दू, शिख, जैन वा अन्य कुनै पनि धार्मिक केन्द्र माथि धावा बोल्ने काम गरेनन्। यस्तो धार्मिक सहिष्णुताको उदाहरण बनेको छ दिल्लीको पुरानो बजार चाँदनी चोक।

बेलायती साम्राज्यले सन् १८५७ मा दिल्लीमा विजय हासिल गर्ने बेलामा लाल किल्ला परिसरका ८० प्रतिशत ऐतिहासिक स्मारकहरू ध्वस्त पार्नुका साथै अन्तिम मुगल वादशाह बहादुर शाह जफर द्वितियलाई पक्रेर वर्मामा लगेर थुनामा राखेको र उनका छोराहरूको विभत्स हत्या गरेर लाल किल्ला बाहिर घिसारेका थिए।

भत्काइएका भवन तथा स्मारक र बगैँचाको ठाउँमा बेलायतीहरूले सेनाको व्यारेक र प्रशासकीय भवनहरू निर्माण गरेका थिए। त्यतिबेलासम्म बेलायतीहरूलाई सुरक्षाको राम्रो अनुभूति नभएकोले केही समय लाल किल्लाको विशाल पर्खालभित्रैबाट शासन चलाएका थिए।

पछि बेलायती साम्राज्य छँदा नै भारतमा सन् १८९९ देखि १९०५ सम्म भायसरोय रहेका लर्ड कर्जनले लाल किल्लाभित्र बचेका स्मारकहरूको मर्मत र पुनर्निमाण गर्न लगाएका थिए। चाँदनी चोकमा रहेका कतिपय पसल र व्यवसायहरू निकै पुरानो समयदेखि सञ्चालनमा छन् र ती पुराना व्यवसायीका सन्तान-दरसन्तानले नै आजसम्म पनि ती व्यवसाय सञ्चालन गर्दै नै छन्।

विभिन्न प्रकारका मिठाई, पकवानका मसला, अत्तर, कपडा, आयुर्वेदिक औषधि आदिका पुराना दोकानहरू आजसम्म पनि चलिरहेका छन्। चाँदनी चोकको भित्री गल्लीहरूमा सडकमा नै बेच्न राखिएका विभिन्न खाले पकवानमा उपयोग गरिने मसला, उच्च कोटीका काजु, बदाम, ओखर जस्ता सुख्खा फल हेर्दा पनि निकै आनन्द आउने।

पराठे वाली गल्लीभित्र विभिन्न प्रकारका मिठा पराठाहरू बनिरहेका हुन्छन् भने दही भल्ला र अन्य चटपटे मसालेदार खानाका पसल र स्टल तथा चिया, लस्सी र दहीका खान्दानी पसल पनि बाटोमा यत्रतत्र भेटिन्छन्। चाँदनी चोकमा नै रहेको निकै पुरानो करिम होटलमा पाक्ने मासुका परिकारहरू भारतभर नै प्रख्यात रहेछन्।

चाँदनी चोकको मुख्य गल्लीमा घण्टेवालाको मिठाइ पसल छ। यो पसल मुगल साम्राज्य छँदा सन् १७९० मा शुरु भएको हो। आज पनि यो पसल घण्टेवालाकै दरसन्तानले चलाइरहेका छन्। यहाँको सबैभन्दा प्रख्यात मिठाई सोहन हलुवा र कराँची हलुवा हो।

मेरा पिताजीले आजभन्दा ५० वर्ष पहिले दिल्ली भ्रमणबाट फर्किए पछि खुवाउनु भएको त्यो पसलको मिठाइ र पछि पछि पनि दिल्ली जाँदा ल्याउने गर्नु भएको घण्टेवालाका मिठाइहरूको कारण यसपाली आफैं त्यो ऐतिहासिक पसलमा पुग्दा निकै खुशी लाग्यो।

पुरी र तरकारी पनि खाइयो। घण्टेवालाको दोकानबाट ५० वर्ष पहिले मेरा पिताजीले मिठाई किनेर हामीलाई काठमाडौंमा खुवाएझैं मैले पनि आफ्ना बालबच्चालाई त्यसरी नै त्यही पसलबाट केही नमकिन, अलिकति मिठाई र सुख्खा मसला ल्याएर खुवाएँ र घण्टेवाला र अन्य पुर्खौली दोकानको बारेमा बताएँ पनि।

यस्तै प्रकारले चलेका केही पसलहरू हामी असन र इन्द्रचोक जस्ता काठमाडौंका पुराना बजारमा पनि भेट्न सक्दछौं। चाँदनी चोकमा आफू निकै सानो छँदा सन् १९७१ मा माता-पितासँग घुम्न जाँदा त्यहाँको प्रख्यात मोतीमहल रेष्टुरेन्टमा गएर नान रोटी र तन्दुरी चिकेन खाएको अझै याद छ।

तर हाल त्यो रेष्टुरेन्ट त्यहाँ कता छ या छैन, पत्ता लगाउन सकिनँ। नयाँ दिल्लीमा चाहिँ सोही नामको पुरानो रेष्टुरेन्ट छ भन्ने सुनेको थिएँ। चाँदनी चोक नक्कली र सक्कली गहना, महँगा र सस्ता लत्ताकपडाको खरिदको निम्ति पनि निकै प्रख्यात छ। यहाँ ज्यादै सस्तो मूल्यमा सलवार-कुर्ता तथा अन्य भारतीय पहिरनका स्तरिय सामान पाइन्छन्।

विभिन्न प्रकारका धागो, टाँक तथा अन्य सौन्दर्यका सामान पनि यहाँ छ्यापछ्यप्ती पाइने भएकोले त्यस्ता सामान खरिद गर्न टाढा टाढा देखि मानिसहरू र व्यापारीहरू समेत आउने गर्दछन्।

भीडभाड निकै हुने भएकोले चाँदनी चोकमा घुम्दा भने आफुसँग भएका पैसा, गरगहना र झोला आदिको भने विशेष खयाल राख्नु पर्दछ। त्यहाँ भएका चोरीका घटनाहरू निकै सुनिन्छन् भने माइकबाट पनि पकेटमारा र ठगहरूबाट साबधान रहने सन्देश दिइराख्दा रहेछन्।

यसपाली आफूलाई प्रत्येक आइतबार लाग्ने पुस्तक प्रदर्शनी हेर्न ज्यादै मन लागेकोले त्यहाँका स्थानीय बासिन्दाहरूसँग सो बारे जानकारी लियौं। चाँदनी चोकबाट करिव दुई किलोमिटर टाढा दिल्ली गेटनिर दरियागञ्जमा रहेको मेट्रो स्टेशनको बगलको महिला हाटमा सो प्रदर्शनी लाग्ने जानकारी पाए पछि हामी रिक्सामा त्यस तर्फ लाग्यौं।

रिक्सा चालक झारखण्डको मानिस रहेछ, निकै मिजासिलो र असल। उसले बाटोमा पर्ने ठाउँहरू बारे बताउँदै हामीलाई पुस्तक प्रदर्शनी स्थलमा पुर्‍यायो। जम्मा १५० रुपैयाँमा उसले हामीलाई पुस्तक प्रदर्शनी स्थल पुर्‍याएर त्यहाँ हामीलाई पर्खिने र त्यसपछि चाँदनी चोकसम्म पुर्‍याउने प्रण गरेको थियो।

साहुको रिक्सा दिनको १५० रुपैयाँमा लिएर चलाउँदो रहेछ। त्यो गर्मीमा उसले दिनमा मुस्किलले ५०० रुपैयाँ कमाउँछ होला। त्यसैले फर्केर चाँदनी चोक पुगेपछि उसलाई हामीले ३०० रुपैयाँ दियौं। निकै खुशी भयो।

भीडभाडलाई छिचोल्दै हामी सो पुस्तक मेलाका सबै स्टलहरू घुम्यौं। दिउँसोको गर्मी। त्यहाँ खासगरी पुराना (सेकेण्ड ह्याण्ड) पुस्तकहरू निकै सुलभ मूल्यमा विक्री हुँदा रहेछन्।

हिन्दी र अङ्ग्रेजी तथा अन्य भाषाका पाठ्य पुस्तक, उपन्यास, विभिन्न विषयका मोटा सचित्र पुस्तकहरू र मसलन्दहरू विक्रीको निम्ति राखिएका र धेरैले खरिद पनि गरिरहेका।

हामीले पनि भारतको सचित्र इतिहास, विभिन्न धर्मको इतिहास र भारतमा वन्यजन्तुको संरक्षण बारेका निकै गहकिला पुस्तकहरू खरिद गर्‍यौं। हामीले खरिद गरेको एउटा पुस्तकको सेट त करिव १५ किलो वजनको थियो। सुलभ मूल्यमा भेट्टाउँदा पनि ४ हजार रुपैयाँ तिर्नु पर्‍यो।

रिक्सामा चाँदनी चोक फर्कने क्रममा पुरानो दिल्ली गेटमा एक छिन रोकिएर यसको अवलोकन गर्‍यौं। मुगलहरूको शासनकालमा पुरानो दिल्लीमा पस्न सोही गेट हुँदै जानु पर्दो रहेछ। गाडीहरूको कोलाहल बीच रिक्सा चढेर चाँदनी चोकमा फर्केर आए पछि ठूला ठूला गिलाँसमा ठण्डा लस्सी पियौं।

अनि बल्ल गर्मी र प्यासबाट केही राहत मिल्यो। चाँदनी चोकमा हिँड्दा र रिक्सामा पुस्तक प्रदर्शनी हेर्न जाँदा पनि पानी त हामीले प्रसस्तै पिएका थियौंं। अनि मल भित्रको पार्किङबाट हाम्रो गाडी निकालेर हामी सिधै आफ्नो वासस्थानतिर फर्कियौं।

थकित शरीरलाई एक पटक धोएर निकै बेर आराम गरे पछि बल्ल थकान मेटियो। बेलुकी विभिन्न रेष्टुरेन्टबाट त्यहाँका प्रख्यात परिकारहरू मगाएर तृप्त भयौं। यात्राको बेलामा कुफत खानेकुरा निकै पर्छन् पापी पेटमा । तर यदाकदा मिष्ठान्न खाँदैमा बिरामी भने परिँदैन जस्तो लाग्छ।

क्रमशः

-लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *