ममता बनर्जीले सत्ता गुमाउनुका प्रमुख ५ कारण
काठमाडौं । पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा) पहिलो पटक राज्यको सत्तामा पुग्न सफल भएको छ र उसले दुई-तिहाइभन्दा बढी बहुमत प्राप्त गरेको छ। भाजपाले २०६ सीटमा जित हासिल गर्दा तृणमूल कांग्रेस (टीएमसी) मात्र ८० सीटमा समेटिएको छ।
मुख्यमन्त्री ममता बनर्जी स्वयम् आफ्नो भवानीपुर सिटबाट भाजपा नेता शुभेन्दु अधिकारीसँग १५ हजारभन्दा बढी मतले पराजित भइन्। मतगणना जारी रहँदा नै उनले भाजपामाथि ‘भोट लुट’ को आरोप लगाएकी थिइन्।
उनले पत्रकारहरूसँग भनिन्, “भाजपाले १०० भन्दा बढी सिट लुटेको छ। भाजपाको यो जित अनैतिक छ। निर्वाचन आयोगले प्रधानमन्त्री र गृहमन्त्रीसँग मिलेर जे गर्यो त्यो पूर्णतया अनैतिक छ।” उनले राज्यमा अत्याचार गरिएको र काउन्टिङ एजेन्टहरूलाई पक्राउ गरिएको आरोप लगाउँदै आफूहरूले पुनरागमन गर्ने दाबी गरिन्।
पन्ध्र वर्षसम्म लगातार सत्तामा रहेपछि तृणमूल कांग्रेसको यो पराजयका पछाडि पाँच प्रमुख कारणहरू मानिएका छन्:
१. महिला सुरक्षाको प्रश्न
पश्चिम बंगालमा महिला मतदाताहरूको ठूलो हिस्सा लामो समयदेखि ममता बनर्जीको पक्षमा रहँदै आएको थियो। साइकल वितरण, लक्ष्मी भण्डार, कन्याश्री र सबुज साथी जस्ता योजनाहरूले महिलाहरूमाझ टीएमसीलाई लोकप्रिय बनाएका थिए।
तर, यस पटक यो आधार टुटेको देखिन्छ। यसको मुख्य कारण महिला सुरक्षाको मुद्दामा पार्टीको असफलता मानिएको छ। दुई वर्षअघिको ‘आरजी कर’ आन्दोलनले यस चुनावमा ठूलो प्रभाव पार्यो।
यसको उदाहरण पानीहाटीमा देखियो, जहाँ आरजी कर प्रकरणकी पीडितकी आमाले भाजपाको टिकटबाट २८,८३६ मतको अन्तरले जित हासिल गरिन्। स्थानीय महिलाहरूले असुरक्षाका कारण आफ्नो इज्जत र भविष्यप्रति डर व्यक्त गरेका थिए।
२. एसआईआर फ्याक्टर
मतदाता नामावलीको गहन पुनः निरीक्षण (एसआइआर) प्रक्रियाका क्रममा ९० लाखभन्दा बढी नाम हटाइएपछि यसको सबैभन्दा ठूलो असर टीएमसीलाई परेको देखिन्छ। ठूलो संख्यामा नक्कली वा मृत्यु भइसकेका मतदाताहरूको नाम हटाइएकाले टीएमसीले विगतमा पाउँदै आएको लाभ यस पटक गुमाउनु पर्यो।
राजनीतिक विश्लेषक योगेन्द्र यादवका अनुसार ४.३ प्रतिशत मानिसहरू, जसमा अधिकांश मुसलमान र टीएमसीका समर्थक थिए, उनीहरूले भोट हाल्न नपाउँदा नतिजामा यस्तो उलटफेर देखिएको हो।
३. प्रशासनिक विफलता
भ्रष्टाचार, कुशासन, ‘कट-मनी’ को आरोप र सिन्डिकेट संस्कृतिको बढवा जस्ता प्रशासनिक विफलताका आरोपहरू यस पटक टीएमसीमाथि निकै भारी परे।
सन् २०१६ र २०२१ मा बंगाली पहिचान र कल्याणकारी योजनाका आधारमा यी आलोचनाहरूलाई पन्छाउन सफल भए तापनि यस पटक भने ममता बनर्जीको प्रयास सफल हुन सकेन।
४. हिन्दू मतहरूको ध्रुवीकरण
पश्चिम बंगालको ३० प्रतिशत मुस्लिम जनसङ्ख्याको एकमुष्ट समर्थन टीएमसीको शक्तिको स्रोत थियो। तर यस पटक हिन्दू मतहरूको उल्टो ध्रुवीकरण भयो, जसको सीधा फाइदा भाजपालाई मिल्यो।
मुस्लिम बहुल जिल्लाहरू मालदा र मुर्शिदाबादमा पनि भाजपाको अग्रताले यसलाई पुष्टि गर्छ। ममता बनर्जीले नरम हिन्दुत्वको रणनीति अपनाए तापनि मतदाताहरू भाजपाको आक्रामक विचारधारातर्फ आकर्षित भएको देखियो। शुभेन्दु अधिकारीले यसलाई ‘हिन्दुत्व र बंगालको जित’ को रूपमा व्याख्या गरेका छन्।
५. केन्द्रीय बलको अभूतपूर्व परिचालन
यस पटक निर्वाचन आयोगले राज्य प्रशासनमाथि कडा नियन्त्रण राख्दै ठूलो संख्यामा जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूको सरुवा गरेको थियो। चुनावका क्रममा राज्यभर २ लाख ४० हजारभन्दा बढी केन्द्रीय सुरक्षाकर्मी परिचालन गरिएको थियो, जसलाई अभूतपूर्व मानिन्छ।
विश्लेषकहरूका अनुसार यस सुरक्षा प्रबन्धका कारण मतदाताहरूले बिना डर र दबाब मतदान गर्न पाए, जसले गर्दा सत्ताधारी दलले विगतमा पाउने गरेका अनधिकृत लाभहरू यस पटक पाउन सकेन।
टीएमसीले निर्वाचन आयोग र केन्द्रीय बलले पक्षपात गरेको र आतंक फैलाएको आरोप लगाए तापनि ती सुरक्षा उपायहरू नै अन्ततः उसको हारको एक कारक बन्यो।







डिसी नेपाल







Facebook Comment