पार्टी बनाएको २ वर्षमै अभिनेता विजय मुख्यमन्त्री बन्ने संकेत, पार्टीले बहालवाला मुख्यमन्त्रीलाई पछि पार्‍यो

डिसी नेपाल
२१ वैशाख २०८३ ११:०९

काठमाडौं । भारतका चार राज्य र एक केन्द्र शासित प्रदेशमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना आज बिहानैदेखि सुरु भएको छ।

पछिल्लो प्राप्त विवरण अनुसार तमिलनाडुमा अभिनेता विजयको नेतृत्वमा रहेको नयाँ पार्टी ‘तमिलगा भेत्री कझगम’ (टीभीके) ले ऐतिहासिक अग्रता कायम गर्दै सत्ताको नजिक पुगेको छ। यहाँ बहुमतका लागि ११८ सिट चाहिन्छ ।

कुल २३४ सिट रहेको तमिलनाडुमा विजयको पार्टी १०५ सिटमा अगाडि देखिएको छ भने कांग्रेस सम्मिलित एआईएडीएमके गठबन्धन ७६ र भाजपा सम्मिलित सत्तारुढ डीएमके गठबन्धन ५१ सिटमा खुम्चिएको छ।

दशकौँदेखि दुई प्रमुख द्रविड दलहरूको कब्जामा रहेको तमिलनाडुको राजनीतिमा विजयको यो उदयलाई राजनीतिक विश्लेषकहरूले एउटा ठूलो ‘सुनामी’ र परिवर्तनको सङ्केतका रूपमा व्याख्या गरेका छन्।

उता पश्चिम बंगालमा पनि सत्तारुढ तृणमूल कांग्रेस र भारतीय जनता पार्टी (भाजपा) बीच निकै कडा टक्कर देखिएको छ। प्रारम्भिक रुझानमा भाजपाले १४७ सिटमा अग्रता लिँदै बहुमतको नजिक पुगेको सङ्केत दिएको छ भने ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस १२७ सिटमा पछि परेको छ।

पश्चिम बंगालमा बहुमतका लागि १४८ सिट आवश्यक पर्दछ जसका कारण मतगणनाको अन्तिम नतिजा नआउन्जेल सत्ताको समीकरण स्पष्ट हुने देखिँदैन। राज्यका विभिन्न गणना केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने दलहरूबीच धाँधलीका विषयलाई लिएर आरोप-प्रत्यारोपको क्रम पनि सुरु भइसकेको छ।

त्यसैगरी, असममा मुख्यमन्त्री हिमन्त बिस्वा सरमाको नेतृत्वमा रहेको भाजपा गठबन्धनले स्पष्ट बहुमतको सङ्केत दिँदै ९५ सिटमा अग्रता बनाएको छ। विपक्षी कांग्रेस गठबन्धन भने मात्र २७ सिटमा सीमित देखिएको छ।

केरलामा परम्परागत राजनीतिक चक्र दोहोरिने सङ्केत गर्दै कांग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्ट ले ५९ सिटमा अग्रता लिएको छ भने सत्तारुढ वामपन्थी गठबन्धन एलडीएफ ४१ सिटमा पछि परेको छ।

केन्द्र शासित प्रदेश पुडुचेरीमा पनि भाजपा नेतृत्वको गठबन्धनले आफ्नो अग्रता कायम राखेको छ। समग्रमा, यस पटकको निर्वाचन परिणामले दक्षिण भारतदेखि पूर्वी भारतसम्मको राजनीतिक नक्सामा नयाँ समीकरणहरू निर्माण हुने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *