साहित्य, विज्ञान र फोटोग्राफीको त्रिवेणी: बहुआयामिक न्यूटन आचार्य
काठमाडौं। नेपाली साहित्य, विज्ञान, फोटोग्राफी र स्वयंसेवा जस्ता फरक-फरक क्षेत्रलाई एउटै जीवन यात्रामा समेट्दै अघि बढिरहेका युवा न्यूटन आचार्य एक बहुआयामिक व्यक्तित्वका रुपमा परिचित छन्।
आफूलाई कुनै निश्चित पेशा वा परिचयमा सीमित नराखी ‘अनुशासित विद्यार्थी’ का रूपमा चिनाउने आचार्यको जीवन निरन्तर सिकाइ, संघर्ष र सिर्जनशीलताको मिश्रणका रूपमा देखिन्छ।
उनी साहित्यकार, फोटोग्राफर, स्वयंसेवक तथा भूगर्भशास्त्रमा रुचि राख्ने विद्यार्थीका रूपमा सक्रिय छन्। उनी भन्छन्,‘म आफूलाई कुनै एक परिचयमा बाँध्न चाहन्नँ, म हरेक दिन नयाँ कुरा सिक्ने विद्यार्थी हुँ।’
बाल्यकाल र साहित्यप्रतिको प्रारम्भिक आकर्षण
आचार्यको साहित्यप्रतिको झुकाव बाल्यकालमै विकसित भएको हो। पारिवारिक वातावरण, विशेषगरी हजुरबुबाको साहित्यप्रेमले उनको सोच र लेखन शैलीमा गहिरो प्रभाव पारेको उनी आफैं बताउँछन्।
उनका अनुसार, हजुरबुबाले रामायणका श्लोकहरू सुनाउने, गाउँघरका घटना र जीवनका अनुभूतिहरूलाई कविता रूप दिनु उनको पहिलो साहित्यिक पाठशाला बनेको थियो। भावुक हुँदै उनी भन्छन्,‘मेरो हजुरबुबाले गाउँमा असिना-पानी परेर भएको क्षति सम्झेर कविता सुनाउनु भएको थियो। त्यो कविता मेरो लागि केवल साहित्य होइन, जीवनको पीडा बुझ्ने पहिलो पाठ थियो।’
त्यही वातावरणले उनलाई सानै उमेरदेखि शब्दप्रति आकर्षित बनायो। कक्षा तीनमा अध्ययन गर्दा उनले पहिलो पटक कविता लेखेको अनुभव सुनाउँछन्, जसले उनको लेखन यात्राको औपचारिक सुरुवातको गरेको थियो।
सुनगाभा साहित्य समाज र लेखनको विकास
साहित्यिक यात्राको विकासक्रममा सुनगाभा साहित्य समाजको भूमिका महत्वपूर्ण रहेको आचार्य बताउँछन्। उक्त साहित्यिक संस्थामा सहभागी भएपछि उनले विभिन्न साहित्यकार, शिक्षक तथा सिर्जनशील व्यक्तिहरूसँग नजिकबाट सिक्ने अवसर पाए।
‘सुनगाभा साहित्य समाज मेरा लागि विद्यालयभन्दा फरक एक विश्वविद्यालय थियो, जहाँ मंैले लेख्न मात्र होइन, बुझ्न पनि सिकेँ।’ त्यहीँबाट उनले कविता, लेख र कथा लेखनमा अभ्यास बढाउँदै साहित्यलाई गहिरो रूपमा बुझ्न थाले।
उपन्यास ‘पर्वतनन्दिनी’ र साहित्यिक उदय
२३ वर्षको उमेरमा न्यूटन आचार्यले उपन्यास ‘पर्वतनन्दिनी’ मार्फत साहित्य क्षेत्रमा औपचारिक प्रवेश गरेका हुन्। उक्त उपन्यासले उनलाई साहित्यिक रूपमा पहिचान दिलाएको छ।
तर, यो यात्रा सहज भने थिएन। लेखनकै क्रममा उनी गम्भीर स्वास्थ्य समस्याबाट प्रभावित भए, जसले उनको सिर्जनात्मक यात्रामा ठूलो चुनौती ल्यायो। १९ वर्षको उमेरमा उनले उपन्यास लेख्न सुरु गरेका थिए। तर बीचमा उनको स्वास्थ्य समस्याको कारण लेखन बन्द गर्नु परेको थियो।
उनी सम्झिन्छन्,‘बिरामी अवस्थामा म धेरै कमजोर भएको थिएँ । लेख्न सक्दिनँ कि भन्ने डर पनि थियो। तर त्यही समयमा म भित्रको इच्छा शक्तिले लेखिरहन प्रेरित गर्यो।’
स्वास्थ्य समस्याका बाबजुद उनले उपन्यास पूरा गरेका थिए, जसलाई उनी आफ्नो जीवनको संघर्षपूर्ण उपलब्धि मान्छन्।
स्वास्थ्य संघर्ष र मानसिक दृढता
आचार्यले आफ्नो जीवनको एक महत्वपूर्ण र चुनौतीपूर्ण चरणमा लामो समयसम्म माइग्रेन तथा अन्य स्वास्थ्य समस्यासँग संघर्ष गर्नुपरेको अनुभव सुनाउँछन्। यस अवधिमा उनी शारीरिक रूपमा कमजोर भएपनि मानसिक रूपमा भने निरन्तर दृढ रहेको बताउँछन्।
अस्पतालको बसाइ, औषधि उपचार, नियमित जाँच र शारीरिक असहजताबीच पनि उनले आफ्नो लेखन कार्यलाई पूर्ण रूपमा रोक्न दिएनन्। कठिन परिस्थितिमा पनि उनले कलम समातेर लेखिरहनु नै आफ्नो आत्मबलको मुख्य आधार बनेको उनले बताए।
उनी भन्छन्,‘त्यो समयमा मेरो शरीर कमजोर थियो, तर मेरो सोच कमजोर थिएन।’
आचार्यका अनुसार, स्वास्थ्य समस्याले शारीरिक रूपमा चुनौती दिए पनि मानसिक रूपमा उनलाई अझै बलियो बनाएको थियो। निरन्तर संघर्ष, आत्मविश्वास र लेखनप्रतिको समर्पणले उनलाई पुनः सक्रिय हुन प्रेरित गरेको थियो।
यस अवधिमा उनको जीवनमा परिवार, नजिकका साथीहरू तथा चिकित्सकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उनी सम्झिन्छन्। उनको अनुसार परिवारको साथ, साथीहरूको हौसला र चिकित्सकहरूको निरन्तर उपचार र मार्गदर्शनले उनलाई कठिन समय पार गर्न ठूलो सहयोग पुगेको थियो।
बहुआयामिक अध्ययन र रुचिहरू
आचार्यको व्यक्तित्व साहित्यमा मात्र सीमित छैन। उनले भूगर्भशास्त्र अध्ययनमार्फत पृथ्वीको संरचना, ढुंगाको इतिहास र प्राकृतिक प्रक्रियाहरूलाई गहिरो रूपमा बुझ्ने प्रयास गरेका छन्।
उनका अनुसार, ढुंगा पनि एउटा इतिहास हो, जसले लाखौँ वर्षको कथा बोकेको हुन्छ। उनी प्रष्ट पार्छन्,‘हामीले ढुंगालाई हेर्दा केवल वस्तु देख्छौँ, तर त्यस भित्र समयको कथा लुकेको हुन्छ।’
त्यस्तै, फोटोग्राफीलाई उनले दृश्यभन्दा गहिरो कथा देखाउने माध्यमका रूपमा व्याख्या गर्छन्। उनका फोटोहरूमा समाज, संस्कृति र मानवीय भावनाको प्रतिबिम्ब देखिन्छ।
स्वयंसेवकको रूपमा रेडक्रससँगको संलग्नताले उनलाई मानवताको महत्व बुझ्न मद्दत गरेको उनले बताएका छन्। घाइते, पीडित र संकटमा परेका मानिसहरूको सेवा गर्ने क्रममा उनले ‘मानवता नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने निष्कर्ष निकालेका छन्।
लेखन दर्शन र समाजप्रतिको दृष्टिकोण
आचार्य साहित्यलाई केवल कला नभई समाज परिवर्तनको माध्यमका रूपमा हेर्छन्। उनका अनुसार, मानिसका भावना र अनुभवलाई सिर्जनात्मक रूपमा अभिव्यक्त गर्न सकिएमा समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।
‘यदि भावना भित्रै राखियो भने त्यो बोझ बन्छ, तर कृतिमा बदलियो भने त्यो समाजको आवाज बन्छ,’उनले भने। उनका विचारमा साहित्य केवल कल्पना होइन, जीवनका यथार्थ, पीडा र संघर्षको दस्तावेज हो।
युवा पुस्ताप्रति सन्देश
न्यूटन आचार्यले विशेषगरी युवा पुस्तालाई आफ्ना भावनाहरूलाई सिर्जनात्मक कार्यमा रूपान्तरण गर्न सुझाव दिएका छन्। उनका अनुसार सामाजिक सञ्जालमा भावना तुरुन्त पोख्ने बानीले दीर्घकालीन सिर्जनात्मक क्षमतालाई कमजोर बनाउन सक्छ।
उनले युवाहरूलाई साहित्य, कला, संगीत, फोटोग्राफी वा अन्य माध्यममार्फत आफ्ना विचार अभिव्यक्त गर्न आग्रह गरेका छन्।
जीवन अनुभव र व्यक्तिगत सम्बन्धहरू
आफ्नो जीवन यात्रामा परिवार र साथीहरूको ठूलो योगदान रहेको उनी स्वीकार गर्छन्। विशेषगरी हजुरबुबा, हजुरआमा, आमा-बुबा, दिदी तथा नजिकका साथीहरूको समर्थनले उनलाई कठिन समयमा अघि बढ्न प्रेरित गरेको उनी बताउँछन्।
‘मेरो जीवनमा सबैभन्दा ठूलो शक्ति मेरो परिवार र साथीहरूको माया हो।’
आचार्य चिकित्सकहरूको योगदानलाई पनि उच्च सम्मानका साथ सम्झन्छन्, जसले उनको स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका खेलेका थिए।
आचार्यको जीवन एकै व्यक्तित्वमा सीमित नभई बहुआयामिक अनुभवहरूको संगम हो । साहित्य, विज्ञान, फोटोग्राफी र मानव सेवाको संयोजनले उनलाई एउटा फरक सोच भएका युवा रूपमा स्थापित गरेको देखिन्छ।
उनको जीवन दृष्टिकोणमा सबैभन्दा महत्वपूर्ण कुरा निरन्तर सिकाइ हो। उनी अझै पनि आफूलाई ‘विद्यार्थी’नै मान्छन् र जीवनभर सिकिरहने संकल्प व्यक्त गर्छन्।
अन्ततः आचार्यको जीवन यात्रा केवल एक युवा साहित्यकारको संघर्षको कथा मात्र होइन, आत्मविश्वास, इच्छाशक्ति र निरन्तर सिकाइको जीवित उदाहरण पनि हो।
स्वास्थ्य समस्याले शारीरिक रूपमा कमजोर बनाउँदा पनि उनले आफ्नो सोच, सिर्जनशीलता र सपनालाई कमजोर हुन दिएनन्।
परिवारको साथ, साथीहरूको माया, चिकित्सकहरूको योगदान र आफ्नै दृढ इच्छाशक्तिको बलमा उनले कठिन समय पार गर्दै पुनः सिर्जनात्मक यात्रालाई निरन्तरता दिएका छन्।
साहित्य, विज्ञान, फोटोग्राफी र मानवताप्रतिको उनको दृष्टिकोणले उनलाई केवल लेखक मात्र होइन, समाजलाई गहिरो रूपमा बुझ्ने संवेदनशील युवा व्यक्तित्वका रूपमा स्थापित गरेको छ।
उनका अनुभव, संघर्ष र विचारहरूले अहिलेको युवा पुस्तालाई कठिन परिस्थितिमा पनि हार नमान्न, आफ्ना भावनाहरूलाई सिर्जनामा रूपान्तरण गर्न र जीवनलाई निरन्तर सिकाइको यात्राका रूपमा लिन प्रेरणा दिने छ।







डिसी नेपाल







Facebook Comment