सिन्धुपाल्चोकमा ५६ लाख बढीको अवैध भेपसहित ७ जना पक्राउ

डिसी नेपाल
२ जेठ २०८३ १०:३१

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ गंजेखोलाबाट प्रहरीले रु ५६ लाख ७० हजार मूल्य बराबरको अवैध भेप (इलेक्ट्रोनिक चुरोट) सहित सात जनालाई पक्राउ गरेको छ।

जेठ १ गते राति ९:३० बजे इलाका प्रहरी कार्यालय कोदारीबाट खटिएको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

चीनबाट भोटेकोशी–३ बोक्चेन हुँदै अरनिको राजमार्गको १० किलो निस्कने भित्री बाटो प्रयोग गरी ९ वटा बोराले छोपेको कार्टुनभित्र लुकाएर १ हजार ६२० थान भेप ल्याउँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा भोटेकोशी–४ का ३५ वर्षीय गणेश खड्का, ४६ वर्षीय हिमाल खड्का, २४ वर्षीय विकास बि.क., ४८ वर्षीय रामबहादुर बि.क., १७ वर्षीय विशाल रक्पाल, ३७ वर्षीय मंगलबहादुर थामी र बाह्रबिसे नगरपालिका–५ का ४२ वर्षीय कान्छा तामाङ रहेका छन्। उनीहरूलाई हाल इलाका प्रहरी कार्यालय कोदारीमा राखिएको छ।

तातोपानी भन्सार कार्यालयले मितेरीपुलस्थित यात्रु शाखाबाट अनुमति नभएका सामग्री ल्याउन रोक लगाएपछि सीमा क्षेत्रमा झोलेपोके व्यापार ठप्प भएको छ। सरकारी नियममा कडाइ गरिएसँगै चिनियाँ बजार झामु पुगेर सामान ल्याउने स्थानीयको चहलपहल रोकिएकै बेला यो अवैध मार्गबाट तस्करीको प्रयास भएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *