मितेरी सहर लिञ्जीद्वारा पोखरालाई एम्बुलेन्स प्रदान

डिसी नेपाल
२ जेठ २०८३ २२:४३

कास्की। पोखरा महानगरको मितेरी सहर मित्रराष्ट्र चीनको जिजाङ प्रान्तस्थित लिञ्जीले उपहारस्वरूप प्रदान गरेको अत्याधुनिक एम्बुलेन्ससहितको स्वास्थ्य सामग्री आज पोखरा आइपुगेको छ।

लिञ्जी सहरले अत्याधुनिक उपकरण जडित एम्बुलेन्स, भेन्टिलेटर, अक्सिजन सिलिन्डर तथा अक्सिजन इन्सिनेटरलगायत स्वास्थ्य सामग्री पोखरालाई सहयोग गरेको हो। विसं २०७९ मा पोखरा महानगरको नयाँ नेतृत्वलाई स्वागत गर्दै लिञ्जीले ती सामग्री सहयोगको घोषणा गरे पनि रसुवा (केरुङ) नाकामा भन्सार प्रक्रियाका कारण रोकिएको महानगर प्रमुख धनराज आचार्यले बताए।

तत्कालीन व्यवस्थाअनुसार भन्सार छुटको सीमा रु १६ लाखसम्म मात्रै रहेको र स्वास्थ्य सामग्रीको मूल्य रु तीन करोड ५० लाखभन्दा बढी भएकाले सामग्री छुटाउन समस्या भएको थियो। त्यसपछि महानगरले विभिन्न निकायसँग समन्वय गर्दै भन्सार छुटका लागि पहल गरेको थियो। गत वर्षको बजेटमार्फत एम्बुलेन्स भन्सार छुटसम्बन्धी सीमा हटाइएपछि सामग्री ल्याउने प्रक्रिया अगाडि बढेको प्रमुख आचार्यले बताए।

यसबीच महानगरपालिकाको कार्यालयमा भएको आगलागीमा सम्बन्धित कागजात नष्ट भएपछि प्रक्रिया पुनः सुरु गर्नुपरेको थियो। पुनः आवश्यक प्रक्रिया पूरा गरी सामग्री फेरि मगाइएपछि ती सामग्री पोखरा महानगरपालिकाको परिसरमा आइपुगेका हुन्।

“मितेरी सहर लिञ्जीबाट प्राप्त स्वास्थ्य सामग्री साढे तीन वर्षपछि पोखरा ल्याउन सफल भएका छौँ”, प्रमुख आचार्यले भने, “यो सहयोगले पोखराको स्वास्थ्य सेवा प्रवाहमा सहयोग पुग्नुका साथै दुई सहरबीचको मैत्री सम्बन्ध अझ सुदृढ भएको छ।”

उक्त सामग्री पोखरावासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उपयोग गरिनेछ। यसअघि पोखरामा आयोजित अन्तरराष्ट्रिय ड्रागन बोट रेस प्रतियोगितामा सहभागी हुन लिञ्जी सहरका मेयर मिस्टर बाटा नेतृत्वको टोली पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो अन्तरराष्ट्रिय उडानमार्फत आएको थियो। पोखराबाट समेत समयसमयमा मितेरी सहर लिञ्जीको भ्रमण हुँदै आएको छ।

महानगरले सामग्री भन्सार छुटाएर एम्बुलेन्ससहितका सामग्री पोखरा ल्याउन सहयोग गर्ने नेपाल–चीन मैत्री सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखे, भन्सार कार्यालय तथा नेपाल सरकारका विभिन्न निकायप्रति आभार व्यक्त गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *