रामायणकालीन इतिहास बोकेको गेरुका नदीमा एक महिने ‘मलेमास मेला’ सुरु, भारतबाट समेत ओइरिए श्रद्धालु
जनकपुर। प्रत्येक तीन वर्षमा आउने मलेमास (पुरुषोत्तम मास) को अवसरमा महोत्तरी र धनुषाको सिमानामा परापूर्वकालदेखि लाग्दै आएको ऐतिहासिक ‘गेरुका महाकुम्भ मेला’ आजदेखि विधिवत् रूपमा सुरु भएको छ। महोत्तरीको लोहारपट्टी नगरपालिका–११, खुट्टा पिपरारीस्थित रामायणकालीन इतिहास बोकेको पवित्र गेरुका नदीमा एक महिनासम्म चल्ने विशेष स्नान तथा मेला सुरु भएको हो।
मेलाको पहिलो दिन आइतबार बिहान जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरको विशेष अगुवाइमा भगवान् श्रीराम र माता सीताको डोला स्वरूपलाई गेरुका नदीमा लगेर धार्मिक विधिअनुसार पूजाअर्चना गरिएको छ।
मिथिला महात्म्यमा उल्लेख भएअनुसार माता सीताले आफ्नो समयमा यसै गेरुका नदीमा स्नान गर्ने गर्नुहुन्थ्यो। धार्मिक मान्यताअनुसार मलेमासको अवधिभर यस पवित्र गेरुका धामको जलाधारमा स्नान गरी भगवान् पुरुषोत्तमको पूजाआराधना गर्नाले जानी-नजानी गरिएका सम्पूर्ण पापबाट मुक्ति मिल्नुका साथै अक्षय पुण्य प्राप्त हुने जनविश्वास रहेको छ।
कन्तावाँ र उत्तरवाहिनी नदीको संगमस्थलमा लाग्ने यस मेलामा स्नान गर्न मधेस प्रदेशका आठै जिल्लाका श्रद्धालुभक्तजनका साथै सीमापारि भारतबाट समेत ठूलो सङ्ख्यामा तीर्थयात्रीहरू आउने गर्दछन्। जेठ ३ गतेदेखि सुरु भएको यो मेला असार महिनाको सुरुवातसम्म (पूरै एक महिना) सञ्चालन हुनेछ। महिनाभर चल्ने यस मेलामा विशेष गरी आइतबार र मङ्गलबार श्रद्धालुहरूको अत्यधिक भीड लाग्ने गर्दछ।
एक महिनाको अवधिमा लाखौँ भक्तजनले स्नान गर्ने यस क्षेत्रको विकास र प्रचारप्रसारमा भने राज्यको ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ। स्थानीय पिपरारीबासी हरिसचन्द्र यादव भन्छन्, “यस ऐतिहासिक गेरुका नदीमा गरिने स्नानप्रति श्रद्धालुहरूको मनमा यति धेरै अगाध आस्था छ कि कुनै प्रचारप्रसार विना नै लाखौँ भक्तजन यहाँ आफैँ आइपुग्छन्।”
उनले संघीय र प्रदेश सरकारले थोरै मात्र ध्यान दिएर यसको प्रचार र भौतिक पूर्वाधारमा लगानी गरेमा यस क्षेत्रलाई भारतको प्रसिद्ध ‘कुम्भ मेला’ जस्तै अन्तर्राष्ट्रिय स्तरको ठूलो धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने सम्भावना औंल्याए।







डिसी नेपाल







Facebook Comment