प्रधानन्यायाधीश डा. शर्माद्वारा पदभार ग्रहण

डिसी नेपाल
५ जेठ २०८३ २०:१२

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सर्वोच्च अदालत पुगेर उनले कार्यभार सम्हालेका हुन्।

शर्मा आजै संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अनुमोदित भएका थिए। लगत्तै शीतल निवासमा राष्ट्रपतिले उनलाई शपथ ग्रहण गराएका थिए।

न्यायपरिषद्ले बुझाएको ६ जनाको सूचीमध्ये सर्वोच्च अदालतको चौथो वरियतामा रहेका न्यायाधीश शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। न्यायालयमा लामो समयदेखि चल्दै आएको वरिष्ठताको परम्परा र मर्यादालाई मिचेर शर्मालाई अघि सारिएपछि नेपाल बार एशोसिएशन लगायतका कानुनी क्षेत्रका संघसंस्थाहरूले यसको तीव्र विरोध गरिरहेका छन्। यो कदमले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र स्वच्छतामाथि नै गम्भीर प्रश्न खडा गरेको उनीहरूको भनाइ छ।

रोलक्रमअनुसार सर्वोच्च अदालतमा सपना प्रधान मल्ल वरिष्ठतम् न्यायाधीश हुन्।

सरकारले संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्दै जारी गरेको नयाँ अध्यादेशका कारण यो नियुक्ति सम्भव भएको हो। उक्त अध्यादेशमार्फत ६ सदस्यीय संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित ३ जना मात्र सदस्य उपस्थित भए पनि निर्णय गर्न सक्ने खुकुलो प्रावधान राखिएको थियो।

विपक्षी दलहरूको असहमतिका बीच सोही अध्यादेशको जगमा बसेर संवैधानिक परिषद्ले चौथो वरीयताका शर्माको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *