सदनमा उठ्यो सत्तापक्षको ‘विगत’: हिजो वेल घेर्नेहरूले आज मर्यादा सिकाउनु दोहोरो चरित्र
काठमाडौं। नेपाली कांग्रेसका सांसद निश्कल राईले सरकार संसद्प्रति उत्तरदायी बन्न नसकेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले पछिल्ला केही बैठकदेखि सरकारलाई जवाफदेही बनाउन प्रतिपक्षी दलहरू लगातार प्रयासरत रहे पनि सरकारले संसद्लाई बेवास्ता गरेको बताए।
नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीलाई उपस्थित गराउन प्रमुख प्रतिपक्षी दलका सांसदहरूले पटक–पटक आवाज उठाए पनि सभामुख र सरकार दुवैले त्यसलाई गम्भीर रूपमा नलिएको उनको आरोप थियो।
बैठकमा बोल्दै उनले भने, “पछिल्लो केही बैठकदेखि प्रतिपक्षी दलहरूले सरकारलाई जवाफदेही बनाउन खोजिरहेका छन्। नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्रीको खोजी गर्ने लगायतका विषयमा प्रमुख प्रतिपक्ष दलको हैसियतमा म स्वयम् र अन्य माननीयज्यूहरूले उठेर पटक-पटक सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेका हौँ। तर, यसमा सम्माननीय सभामुख महोदयको साथ हामीलाई मिलेन र सरकारले पनि टेरेन।”
सांसद राईले अर्को प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले समेत सरकारको जवाफदेहिता माग गर्दै सदनमा प्लेकार्ड प्रदर्शन गरिरहेको उल्लेख गरे।
सभामुखले उक्त गतिविधिलाई अमर्यादित भनेकोप्रति आपत्ति जनाउँदै उनले विगतमा हालको सत्तारूढ दल प्रतिपक्षमा हुँदा गरेका आन्दोलनहरूको स्मरण गराए।
“आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा हुँदा सरकारको जवाफदेहिता खोज्दै निलो स्कार्फ घाँटीमा बाँधेर वेल घेरेको थियो, वेलमै पलेँटी कसेर बस्ने र पुस्तक पढ्ने काम पनि हालको सत्तारूढ दलबाटै भएको थियो,” राईले टिप्पणी गरे, “आफैंले गरेको त्यो कदम संसदीय र मर्यादित हुने, अनि अहिले प्रतिपक्ष दलले प्लेकार्ड देखाउँदा कसरी अमर्यादित भयो? विगतका ती गतिविधि पनि गलत थिए र अहिलेका गतिविधि पनि अमर्यादित भइरहेका छन् भन्ने हाम्रो निष्कर्ष हो।”
विगतका आफ्ना गतिविधिलाई संसदीय अभ्यास मान्ने तर अहिलेको विरोधलाई अमर्यादित भन्ने प्रवृत्ति सत्तारूढ दलको दोहोरो मापदण्ड भएको उनले बताए।
सदनको मर्यादा कायम गर्ने जिम्मेवारी सभामुख र सरकार दुवैको भएको उल्लेख गर्दै उनले सरकार ‘क्रमभंगता’ को नाममा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि हस्तक्षेप गर्न लागिपरेको आरोप समेत लगाए।
राईले सरकारले दुईतिहाइको दम्भका आधारमा संसदीय अभ्यासलाई चुनौती दिइरहेसम्म सदन मर्यादित बन्न नसक्ने चेतावनी दिए।







डिसी नेपाल







Facebook Comment