बजेटअघि रास्वपाको आन्तरिक बैठक: रवि लामिछानेले लिँदै सांसदहरूको सुझाव
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज (शुक्रबार) पार्टीका सांसदहरूसँग सामूहिक छलफल गर्ने भएका छन्।
संसदमा जारी गतिरोध र आगामी बजेटको पूर्वसन्ध्यामा सांसदहरूबाट महत्त्वपूर्ण सुझाव एवं धारणा संकलन गर्ने उद्देश्यले सभापति लामिछानेले यो छलफलको तालिका तय गरेका हुन्।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार आज पहिलो चरणमा कोशी र मधेश प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल गरिनेछ। जसअन्तर्गत कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बैठक बस्नेछ भने मधेश प्रदेशका सांसदहरूसँग दिउँसो १:३० बजेदेखि ३:३० बजेसम्मका लागि समय निर्धारण गरिएको छ।
विपक्षी दलहरूले संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै लगातार बैठक अवरोध गरिरहेका बेला रास्वपाले आन्तरिक रणनीति तय गर्न पार्टीभित्रको छलफललाई तीव्र बनाएको देखिन्छ।
बजेट आउनुअगाडि आयोजना गरिएको यस विशेष छलफलमा सांसदहरूले आ-आफ्नो निर्वाचन क्षेत्रका समस्या, जनताका तत्कालीन चासोका विषयहरू र समसामयिक राजनीतिक अवस्थाबारे पार्टी नेतृत्वसमक्ष आफ्ना धारणाहरू राख्ने बताइएको छ। रास्वपाले यो छलफलमार्फत संसद्मा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउने रणनीति लिएको छ।







डिसी नेपाल







Facebook Comment