मधेस सरकारमा नयाँ समीकरण: जसपाका मन्त्री बर्खास्त, एमालेका समिर विना विभागीय मन्त्री नियुक्त
जनकपुरधाम। मधेस प्रदेश सरकारमा बिहीबार ठूलो राजनीतिक उलटफेरका बीच मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले विकसित नयाँ राजनीतिक समीकरणलाई बलियो बनाउन सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालका मन्त्रीहरूलाई बर्खास्त गर्दै नेकपा (एमाले) लाई सरकारमा भित्र्याएका हुन्।
सत्ता गठबन्धनभित्र चुलिएको असन्तुष्टि र समीकरण परिवर्तनका कारण मुख्यमन्त्री यादवले यो कदम चालेका हुन्। पुनर्गठन प्रक्रिया अघि बढ्नुअघि सरकारमा सहभागी जनमत पार्टीका दुई मन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका थिए।
सीके राउत नेतृत्वको जनमत पार्टीबाट अर्थमन्त्री बनेका महेशप्रसाद यादव र समाजकल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहाले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएपछि मन्त्रिपरिषद् हेरफेरको ढोका खुलेको थियो।
जनमतका मन्त्रीहरूको बहिर्गमनलगत्तै मुख्यमन्त्री यादवले एमालेका प्रादेशिक सांसद मोहम्मद समिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन्। नयाँ राजनीतिक सन्तुलन मिलाउने प्रयासस्वरूप मुख्यमन्त्रीले सरकारमा रहेका जसपा नेपालका तीन मन्त्रीहरूलाई भने पदमुक्त (बर्खास्त) गरिदिएका छन्।
मन्त्रिपरिषद् पुनर्गठनपछि हाल मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमन रहेका छन्। नयाँ राजनीतिक समीकरण अनुसार मन्त्रालयहरूको जिम्मेवारीमा थप बाँडफाँड र परिमार्जन हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।







डिसी नेपाल







Facebook Comment