छाडा नबोल्ने शर्तमा कमेडियन सज्जन श्रेष्ठसहित तीन जना साइबर ब्युरोबाट छुटे

डिसी नेपाल
८ जेठ २०८३ १४:५८

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युब भिडियोहरूमा असभ्य, अमर्यादित र छाडा शब्द प्रयोग गरेको भन्दै चर्चित कमेडियन तथा पडकास्टरहरूलाई नियन्त्रणमा लिई सचेत गराएको छ।

ब्यूरोले कमेडियन सज्जन श्रेष्ठ, उत्सव सापकोटा र विशाल गौतमलाई कार्यालयमा बोलाएर आइन्दा त्यस्तो गतिविधि नगर्ने सर्तमा सम्झाएर छाडेको हो। सामाजिक सञ्जालमा बढ्दै गएको उच्छृङ्खलतालाई रोक्न प्रहरीले यो कदम चालेको बुझिएको छ।

साइबर ब्यूरो स्रोतका अनुसार ती तीनै जना कमेडियन र पडकास्टरहरूले सञ्चालन गर्ने डिजिटल कार्यक्रमहरूमा सामाजिक शिष्टाचार विपरीतका सामग्रीहरू प्रसारण भइरहेको पाइएपछि उनीहरूलाई सोधपुछ र सचेत गराउन कार्यालयमा उपस्थित गराइएको थियो।

श्रेष्ठले युट्युबमा सञ्चालन गर्दै आएको चर्चित शो ‘इन द लास्ट कोइसन’ मा अत्यधिक छाडा, अश्लील र उच्छृङ्खल शब्दहरू समावेश हुने गरेको ब्यूरोको अनुसन्धानले देखाएको छ।

उक्त डिजिटल कार्यक्रम र त्यसमा प्रयोग हुने भाषालाई लिएर आम दर्शक तथा सरोकारवालाहरूले प्रहरीमा तीव्र गुनासो र उजुरी गरेपछि साइबर ब्यूरोले यस विषयमा गम्भीर चासो देखाएको हो।

पछिल्लो समय डिजिटल स्वतन्त्रताको नाममा युट्युब र अन्य सामाजिक सञ्जालहरूमा अश्लीलता र सामाजिक मर्यादा बाहिरका सामग्रीहरू बढ्दै गएको जनगुनासो आइरहेका बेला ब्यूरोले पडकास्टरहरूलाई कानुनी दायरा र सामाजिक जिम्मेवारीबोध गराउन यो कारबाही अघि बढाएको जनाएको छ।

ती कलाकारहरूले आगामी दिनमा आफ्नो प्रस्तुतिलाई मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेपछि प्रहरीले सम्झाइबुझाई छाडेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *