भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण, कालोबजारी आरोपमा दुई पक्राउ
डिसी नेपाल
२६ भदौ २०८३ ९:२२
भक्तपुर। भक्तपुरमा ग्यासको अभाव र कालोबजारी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई तीव्र बनाएको छ। अनुगमनका क्रममा मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण गरिएको छ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझ गरिएको अनुगमनका क्रममा ब्याङ्क्वेटमा मौज्दात राखिएका ६० वटा ग्यास सिलिन्डर भेटिएका थिए। प्रशासनले ती सिलिन्डर आवश्यक परेका सर्वसाधारणलाई वितरण गरेको हो।
ब्याङ्क्वेट सञ्चालकले असोज महिनामा पार्टी प्यालेसमा विभिन्न कार्यक्रम तथा भोज धेरै हुने भएकाले ग्यास आवश्यक पर्ने भन्दै चितवन पुगेर बिहीबार मात्रै सिलिन्डर ल्याएको बताएका थिए। प्रशासनको अनुरोधपछि मौज्दातमध्येका ग्यास सिलिन्डर आवश्यक परेका सर्वसाधारणलाई वितरण गरिएको हो।
यसैबीच, भक्तपुर प्रहरीले ग्यास कालोबजारी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। भक्तपुर नगरपालिका–२ इटाछेबाट १४ वटा सगर ग्यास सिलिन्डरसहित ४१ वर्षीय राजेश कर्मचार्य पक्राउ परेका छन्।
त्यस्तै, सूर्यविनायक नगरपालिका–३ ब्रह्मनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश साहलाई पनि प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको बरहथवा नगरपालिका–७ घर भएका साहले ग्यासको अभावको मौका छोपेर प्रतिसिलिन्डर २ हजार ८ सय रुपैयाँमा बिक्री गर्दै आएको सूचना पाएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले साहको पसलबाट ७५ वटा हिमाल ग्यासका सिलिन्डरसमेत जफत गरेको छ। ग्यासको कृत्रिम अभाव सिर्जना गरी महँगो मूल्यमा बिक्री गर्ने तथा अवैध रूपमा भण्डारण गर्ने गतिविधिविरुद्ध अनुगमन र कारबाहीलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ।
Facebook Comment