क्यान्सर उपचारका अत्यावश्यक औषधिको हाहाकार: राजपत्रको पुरानो मूल्यका कारण आयात ठप्प
काठमाडौं। क्यान्सर रोगको उपचारमा प्रयोग हुने अति आवश्यक औषधिको गम्भीर अभाव देखिएपछि देशभरका बिरामीहरू मर्कामा परेका छन्। क्यान्सरको मुख्य उपचार विधि ‘किमोथेरापी’ मा अनिवार्य मानिने औषधिको अभाव देशका प्रमुख सरकारी अस्पतालहरूमा देखिएको हो।
हाल भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल (टीयू) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका स्वास्थ्य संस्थाहरूमा ती औषधिको चरम अभाव छ।
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्जवल चालिसेका अनुसार किमोथेरापीमा प्रयोग हुने कार्बोप्लाटिन, सिस्प्लाटिन र अक्सालिप्लाटिन जस्ता औषधिको मौज्दात अस्पतालमा सकिएको दुई हप्ताभन्दा बढी भइसकेको छ।
“किमोथेरापी दिँदा कम्तीमा यी तीनमध्ये एउटा औषधि मिसाउनै पर्ने हुन्छ, जसको विकल्प छैन। अहिले यो समूहका कुनै पनि औषधि उपलब्ध नहुँदा बिरामीको उपचारमा ठूलो असर परिरहेको छ,” डा. चालिसेले भने।
उनका अनुसार आपूर्तिकर्ताहरूले एक महिना अगाडि नै औषधि उपलब्ध गराउन नसक्ने जानकारी दिएका थिए। भक्तपुर क्यान्सर अस्पतालमा मात्रै दैनिक ७० जना बिरामीलाई यी औषधिको आवश्यकता पर्ने गर्छ। ती औषधिको अभावमा बैकल्पिक वा अपूर्ण उपचार गर्नुपर्दा क्यान्सर निको नहुने जोखिम बढेको चिकित्सकहरू बताउँछन्।
यस्तै, चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि विगत दुई महिनादेखि कार्बोप्लाटिन र सिस्प्लाटिन उपलब्ध छैन।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उत्तम नेपालले अस्पतालको मौज्दात शून्य भएपछि दैनिक आउने करिब २०० जना किमोथेरापीका बिरामी प्रभावित भएको र यो समस्याबारे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई जानकारी गराइसकिएको बताए।
अस्पतालहरूमा रु २०० देखि दुई हजारसम्ममा पाइने यी औषधि नपाएपछि बिरामीहरू भारत वा बाहिरका निजी औषधि पसलबाट चर्को मूल्य तिरेर किन्न बाध्य छन्। अभाव टार्न विश्व स्वास्थ्य संगठनसँग समेत औषधिका लागि आग्रह गरिएको छ।
मूल्य समायोजन नहुँदा आयात ठप्प
औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा ती औषधिको मूल्य बढे पनि नेपालमा समयमै मूल्य समायोजन हुन नसक्दा यो संकट निम्तिएको हो।
सरकारले राजपत्रमा प्रकाशित गरेर तोकेको मूल्यमा आपूर्तिकर्ताहरूले आयात गर्न नसकेका हुन्। राजपत्रको मूल्य तत्काल संशोधन गर्न प्राविधिक समस्या हुने भएकाले हामी मध्यमार्गी समाधान खोजेर छिट्टै औषधि भित्र्याउने तयारीमा छौँ,” बज्राचार्यले भने।
नेपाल औषधि आपूर्तिकर्ता संघका अध्यक्ष पवन आचार्यले भने सरकारको लापरबाहीका कारण यो अवस्था आएको आरोप लगाए।
“सरकारले वि.सं. २०७२ सालमा यी औषधिको मूल्य तोकेको थियो। हामीले वि.सं. २०७२ को मूल्यमा अहिले औषधि ल्याएर बिक्री गर्न सक्दैनौँ भनेर सरकारलाई धेरै पहिलेदेखि भन्दै आएका थियौँ, तर सुनुवाइ भएन,” आचार्यले भने।
उनले सरकारले मूल्य समायोजन गर्ने बित्तिकै औषधि आयात सुचारु हुने स्पष्ट पारे। हाल बजारमा औषधिको मौज्दात कति छ भन्नेबारे अध्ययन समेत भइरहेको संघले जनाएको छ।







डिसी नेपाल







Facebook Comment