यस वर्ष विपद्‍बाट ७० जनाको मृत्यु

डिसी नेपाल
९ जेठ २०८३ २१:४८

काठमाडौं। विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार ३४२ वटा विपद्जन्य घटनामा देशभर गरेर ७० जना नागरिकले ज्यान गुमाएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्ष २०८३ को पछिल्लो ४० दिनमा उक्त घटना भएको र ३३३ जना नागरिक घाइते भएका छन्।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा बढी लेक लागेर १६, चट्याङबाट १४ र आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन्। यसैगरी, हुरीबाट नौ, जनावरको आक्रमणबाट आठ, सर्पदंशबाट पाँच, पहिरोबाट दुई, डुङ्गा पल्टिएर दुई तथा वन डढेलो, बाढी र हिउँपहिरोमा परेर एक/एक जनाको मृत्यु भएको छ।

ती विपद्का घटनाबाट एक हजार ६२१ परिवार प्रभावित भएका प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ। विपद्जन्य घटना सङ्ख्या हेर्दा भने सबैभन्दा बढी आगलागीका ४८८ वटा घटना भएका छन्। यसैगरी, हुरीका २३०, चट्याङका १३९ र सर्पदंशका १०५ वटा घटना भएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै विपद्जन्य घटनामा परेरका तीन जनाको मृत्यु भएको पनि उहाँले बताउनुभयो। ३२ वटा घटनामा १३ जना घाइते भएका र १७ लाखभन्दा बढीको क्षति भएको पनि प्राधिकरणले जनाएको छ।

देशमा मनसुन प्रवेशको चरणमा रहेका बेला कतै बाढी पहिरो र कतै तातो हावाको लहर जारी छ। आज पूर्र्वी नेपालका विभिन्न जिल्लामा भीषण बाढी आउँदा धेरै क्षेत्र प्रभावित भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *