सङ्खुवासभामा भारी वर्षा

डिसी नेपाल
९ जेठ २०८३ २२:५३

काठमाडौं। नेपालका तराई क्षेत्रमा तातो हावा चलिरहेका समयमा विभिन्न प्रणालीले मौसम बदली हुँदा अहिले देशका केही जिल्लामा अहिले वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी वर्षा सङ्खुवासभामा भएको छ। सङ्खुवासभामा पछिल्लो २४ घण्टामा १६९ मिलीमिटर वर्षा भएको छ। अहिले पनि वर्षा जारी छ। यहाँको नुम क्षेत्रमा वर्षा केन्द्रित रहेको छ।

एक सय मिलीमिटरबाट माथि नाघेपछि त्यसले बाढी, पहिरोको खतरा बढाउँछ। तर स¬ङ्खुवासभामा अति धेरै भारी वर्षा (२०० मिमी)तर्फ उन्मुख हुन लागेको छ। यसले बाढी र पहिरो निम्त्याउन सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन्।

विभागमा अहिले राति १०ः०० बजे वर्षा मापन केन्द्रमा रेकर्ड भएको अभिलेखमा यहाँ पछिल्लो एक घण्टामा १५.६, तीन घण्टामा ७१.४, छ घण्टामा ८५ र १२ घण्टामा १३९ मिलीमिटर वर्षा भएको छ। यो अत्यधिक वर्षा हो।

यस्तै पछिल्लो २४ घण्टामा धादिङ र चितवनमा पनि ४३/४३ मिलीमिटर वर्षा भएको छ। अहिले मकवानपुर, रौतहट, सिन्धुली, सङ्खुवासभाका केही क्षेत्रमा वर्षा भइरहेको छ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ।

विभागले आज साँझ जारी गरेको बुलेटिनमा आइतबार कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने तथा मधेस प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ।

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, मधेस प्रदेशलगायत बागमती, गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तथा तराई भूभागमा तातो हावाको लहर चल्ने सम्भावना रहेको र मधेस तथा कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हुरीबतासको सम्भावना रहेको विभागका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *