बागमती नदीमा डुबेका दुवै युवकको शव भेटियो

डिसी नेपाल
१० जेठ २०८३ १९:५९

बरहथवा (सर्लाही)। नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको शव फेलापरेको छ।

बागमती नदी तर्ने क्रममा रौतहट र सिन्धुलीको सिमाना झप्सी भन्ने स्थानबाट शनिबार अपराह्दुई युवक बेपत्ता भएका थिए। खोलामा डुबेर बेपत्ता भएका लालबन्दी नगरपालिका–९ बस्तीपुरका अन्दाजी १८ वर्षका रोहित महतो र लालबन्दी नगरपालिका–६ का अन्दाजी २० वर्षका गणेश महतोको शव खोजतलासका क्रममा आज बागमती नगरपालिका–११ स्थित खोलाकिनारमा फेलापरेको प्रहरीले जनाएको हो।

शनिबार खोला तर्ने क्रममा झप्सी झुलुङ्गे पुलमुनिबाट उनीहरू दुई जनासहित बरहथवा नगरपालिका–५ का अन्दाजी २८ वर्षका सहमद मोमिन, २४ वर्षका मोहम्द अखतर र ब्रहमपुरी गाउँपालिका–३ का अन्दाजी २० वर्षका श्याम भण्डारीलाई समेत खेलाले बगाएको थियो।

बगेका तीन जना भने त्यसको केही मिटरको दूरीमा रहेको नुनथर क्षेत्रमा पौडिएर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

उहाँहरू शनिबार बिहानै घुम्न निस्किएको र उक्त स्थानमा पुगेको परिवारको भनाइ छ। बेपत्ता रोहित र गणेशको भने खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै जनाको शव घटनास्थलको मुचुल्कापछि परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्रहरीले जनाएको छ। घटनापछि मृतक युवकहरूको गाउँ शोकमा डुबेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *