१५औं ACEF ग्लोबल अवार्ड्समा ‘भी-चित्र’ लाई दुई स्वर्ण, खेलकुद मार्केटिङमा नेपालको अन्तर्राष्ट्रिय फड्को

डिसी नेपाल
११ जेठ २०८३ १०:३०

काठमाडौं। नेपालको अग्रणी एकीकृत मार्केटिङ तथा सञ्चार एजेन्सी ‘भी-चित्र प्रा. लि.’ ले अन्तर्राष्ट्रिय मञ्चमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ ।

भारतको मुम्बईस्थित द वेस्टिन गार्डेन सिटीमा हालै आयोजित ‘१५औं ACEF ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६’ मा भी-चित्रले दुईवटा विधामा स्वर्ण पदक जित्न सफल भएको हो ।

एजेन्सीले नेपाल प्रिमियर लिग (NPL) को दोस्रो सिजनमा ‘बिराटनगर किंग्स’ को सामाजिक सञ्जाल अभियान र ‘नेपाल सुपर लिग’ (NSL) को तेस्रो सिजनको भव्य इभेन्ट व्यवस्थापन तथा प्रवर्द्धनका लागि उक्त प्रतिष्ठित सम्मान प्राप्त गरेको हो । यी दुवै अभियानले नेपाली खेलकुद र मनोरञ्जन उद्योगको मार्केटिङ क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेका छन् ।

एनपीएल टोली बिराटनगर किंग्सका लागि भी-चित्रले परम्परागत शैलीभन्दा फरक र नवप्रवर्तनात्मक अवधारणामा आधारित मार्केटिङ अभियान चलाएको थियो । “Kingdom” (किंगडम) थिममा आधारित उक्त अभियान अन्तर्गत खेलाडी सार्वजनिक कार्यक्रम, मस्कट परिचय, देशव्यापी ट्रफी टुर र खेलका मुख्य क्षणहरूलाई एउटै निरन्तर कथा (Storytelling) का रूपमा प्रस्तुत गरिएको थियो ।

सिजनभरी फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता डिजिटल माध्यममा १ हजार ७ सयभन्दा बढी मौलिक सामग्रीहरू प्रकाशन गरिएका थिए । अन्तर्राष्ट्रिय क्रिकेट स्टार फाफ डु प्लेसिसलाई अनुबन्ध गरिएको घोषणासहितको एउटै टिजर पोस्टले मात्रै ११ लाखभन्दा बढी भ्युज पाएको थियो । सिजनको अन्त्यसम्ममा यस अभियानले इन्स्टाग्राममा ७ करोड ३९ लाख र टिकटकमा २ करोड ९० लाखभन्दा बढी भ्युज संकलन गर्दै बिराटनगर किंग्सलाई लिगकै सबैभन्दा प्रभावशाली डिजिटल फ्रेन्चाइज बनाउन सफल भयो ।

भी-चित्रले दोस्रो स्वर्ण पदक नेपाल सुपर लिग (NSL) सिजन ३ को उत्कृष्ट थिम र डिजाइनका लागि प्राप्त गरेको हो । “Uniting Nepal Through Football” (फुटबलमार्फत नेपाललाई जोड्दै) भन्ने मूल नाराका साथ दशरथ रंगशालामा २३० भन्दा बढी ब्रान्डिङ सामग्रीको प्रयोग गरी खेलको भव्यता बढाइएको थियो ।

नेपालको खेलकुद इतिहासमै पहिलोपटक देशका सात प्रमुख सहरहरूमा ट्रफी टुर आयोजना गरिएको यस अभियानले रंगशालाको प्रत्यक्ष अनुभवलाई डिजिटल प्रविधिमार्फत विश्वका ५० भन्दा बढी देशका दर्शकसम्म पुर्‍याएको थियो । खेलको मस्कटका रूपमा अटिजम भएका बालबालिकाहरूलाई सहभागी गराएर एजेन्सीले सामाजिक उत्तरदायित्व र एकताको बलियो सन्देशसमेत दिएको थियो । लगातार ३० दिनसम्म राष्ट्रिय ट्रेन्डिङमा रहेको यस लिगले टिकटकमा ४५ करोड ९० लाख भ्युज पाउनुका साथै १२ करोड ३४ लाख रुपैयाँ बराबरको पीआर मिडिया भ्यालु (PR Media Value) सिर्जना गरेको थियो ।

यी सफलताहरूले भी-चित्रको खेलकुद र सांस्कृतिक क्षणहरूलाई डिजिटल माध्यमबाट व्यावसायिक र प्रभावशाली कथामा रूपान्तरण गर्ने उच्च क्षमतालाई विश्वमञ्चमा प्रमाणित गरिदिएका छन् ।

भी-चित्र प्रा. लि. नेपालको एक स्थापित एकीकृत मार्केटिङ, जनसम्पर्क (PR), डिजिटल मिडिया, इभेन्ट व्यवस्थापन र क्रियटिभ रणनीति एजेन्सी हो । देशका प्रतिष्ठित ब्रान्डहरूका लागि परिणाममुखी र रणनीतिक अभियानहरू सञ्चालन गर्दै आएको यस एजेन्सीले नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *