सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

डिसी नेपाल
११ जेठ २०८३ १५:११

काठमाडौं। आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ। उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्त गर्ने सम्भावना रहेको छ।

बोर्ड अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ४७ आवेदकमध्येबाट डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टलाई संक्षिप्त सूचीमा राख्दै अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण गरिसकेको छ। तीमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिएको बुझिएको छ।

प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये डा. अधिकारी सेबोनका पूर्व कार्यकारी निर्देशक हुन् भने विनयदेव आचार्य हाल कार्यकारी निर्देशकका रूपमा कार्यरत छन्। मुकुन्द कुमार क्षेत्री र डा. गोपाल भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्।

गत वैशाख ५ गतेदेखि रिक्त रहेको अध्यक्ष पदमा मन्त्रिपरिषद्ले सिफारिस भएका तीन जनामध्येबाट एक जनालाई नियुक्त गर्नेछ। नयाँ अध्यक्ष नियुक्तिसँगै लामो समयदेखि रोकिएका आइपिओ निष्कासन लगायतका कामले गति लिने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *