बजेट समग्र उत्साहजनक छ: पूर्व अर्थमन्त्री एवं दलका नेता
काठमाडौं। पूर्वअर्थमन्त्री एवं विभिन्न राजनीतिक नेताहरूले आज प्रस्तुत बजेटप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेट समग्रमा उत्साहजनक भएको उनीहरूको टिप्पणी छ।
पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेट समग्रमा मिश्रित खालको भएको टिप्पणी गरे। उनले भने, “अर्थमन्त्रीले सबैतिर छुट दिने कुरा गर्नुभएको छ, अनुदान दिने कुरा गर्नु भएको छ, सामाजिक सुरक्षाका क्षेत्र बढाउने भनिएको छ, यो नराम्रो कुरा होइन, राम्रो कुरा हो, तर यसले हाम्रो अर्थतन्त्रले धान्न सक्ने देखिँदैन।”
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले बजेटमा लेखिएका भाषा/शब्दहरू मीठा रहेको तर साधन/स्रोतको सुनिश्चितता हुनुपर्ने बताए। उनले भने, “कार्यान्वयनको सुनिश्चितता सबैभन्दा ठूलो कुरा हो, समग्रमा बजेट हेर्दा केही गर्ने उत्साहका साथ आएको देखिन्छ।”
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले बजेट क्रान्तिकारी भएको उल्लेख गर्दै स्रोत र कार्यान्वयनको पाटो सबैभन्दा महत्त्वपूर्ण भएको टिप्पणी गरे।
सांसद खुश्बु ओलीले बजेटको सकारात्मक पाटो सुधारमुखी भएको प्रतिक्रिया दिए। उनले भने, “एआई फ्याक्ट्री स्थापना गर्नेेदेखि मातृभूमि कोषको अवधारणा रोचक आएको छ, तर अर्बौं रुपैयाँको बेरुजु घटाउने विषयमा बजेट बोलेको छैन।” सरकारले आज आगामी आव २०८३/०८४ का लागि कुल रु २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ।







डिसी नेपाल







Facebook Comment