होटलमा आगलागी हुँदा एक बालकसहित ९ जनाको मृत्यु
काठमाडौं । पश्चिम बङ्गालको राजधानी कोलकातास्थित न्यू मार्केट क्षेत्रको एक होटलमा मङ्गलबार मध्यराति आगलागी हुँदा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको छ।
अस्पताल स्रोतका अनुसार उनीहरूको मृत्यु निस्सासिएर भएको हो। घटनामा गम्भीर घाइते भएका अन्य छ जनाको सरकारी एसएसकेएम मेडिकल कलेजमा उपचार भइरहेको छ।
समाचार एजेन्सी एएनआईले फायर बिग्रेड स्रोतलाई उद्धृत गर्दै मृतकहरूमा उपचारका लागि आएका बङ्गलादेशी नागरिकसमेत रहेको जनाएको छ। यद्यपि, पुलिसले भने मृतकहरूको पहिचानको औपचारिक पुष्टि गर्न बाँकी छ।
दमकल विभागका अनुसार राति करिब दुई बजे होटलको तेस्रो तल्लाबाट सल्किएको आगोको धुवाँ तीव्र रूपमा पूरै भवनभरि फैलिएको थियो। त्यसपछि आगो नजिकैका अन्य भवनहरूमा पनि सल्कन पुगेको थियो। दमकल कार्यालय होटलको नजिकै रहेकाले सूचना पाउनासाथ दमकल टोली र न्यू मार्केट थानाको प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेका थिए।
प्रारम्भिक अनुमान अनुसार आगलागी ‘सर्ट सर्किट’का कारण भएको दमकल अधिकारीले बताएका छन्। यद्यपि, आगलागीको वास्तविक कारण भने अनुसन्धानपछि मात्र खुल्नेछ। प्रहरीले घटनाको मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ भने होटलका प्रबन्धक (म्यानेजर) लाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।
स्थानीयका अनुसार आगलागी हुनासाथ होटलको लिफ्ट बन्द भएको थियो, जसका कारण मानिसहरूमाझ भागदौड मच्चिएको थियो। कतिपय व्यक्तिहरू आफ्नै कोठामा थुनिन पुगेका र धुवाँका कारण बेहोस भएका थिए।
यसअघि, सोमबार बिहानै पनि बङ्गालको वीरभूम जिल्लास्थित तारापीठको एक होटलमा आगलागी हुँदा नौ जनाको मृत्यु भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment