मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

डिसी नेपाल
२१ जेठ २०८३ ११:०२

काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाका प्रयोग गरी नेपाल भित्र्याइएका ७७४ वटा विद्युतीय गाडीहरू (इभी) नियन्त्रणमा लिएको छ।

भन्सार छली गरेर ती गाडीहरू बजारमा पुर्‍याउन लागिएको आशंकामा सशस्त्र प्रहरीले बुधबार राति विभिन्न स्थानबाट एकैसाथ ती सवारीसाधनहरू आफ्नो नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जा क्षेत्रमा गुडिरहेका तथा पार्किङ गरेर राखिएका अवस्थामा ती गाडीहरू बरामद गरिएको हो।

ठुलो परिमाणमा रहेका ती गाडीहरू नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरीले व्यापक रूपमा आफ्ना विभिन्न युनिटहरू परिचालन गरेको थियो।

जसअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नम्बर २५ चण्डिका गण पर्वत र नम्बर २४ कालिका गण कास्कीबाट विशेष सुरक्षाकर्मीको टोली खटिएको सहप्रवक्ता थापाले जानकारी दिए।

कोरोला नाकाका अतिरिक्त नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत भन्सार छलीकै आशङ्कामा थप दुई वटा विद्युतीय गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

हाल नियन्त्रणमा लिइएका ७७६ वटै गाडीहरूलाई आवश्यक कानुनी कारबाही र विस्तृत अनुसन्धानका लागि सम्बन्धित भन्सार कार्यालय तथा राजस्व अनुसन्धान विभाग जस्ता निकायहरूमा बुझाउने तयारी भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *