वातावरण संरक्षण र प्रकृतिमैत्री विकासमा जोड दिन राष्ट्रपतिको आह्वान, भन्छन्- ‘जलवायु परिवर्तन वर्तमानकै गम्भीर चुनौती’

डिसी नेपाल
२२ जेठ २०८३ ७:२९

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको अत्यधिक दोहनले विश्व समुदायलाई गम्भीर चुनौती दिएको उल्लेख गर्दै वातावरण संरक्षण तथा प्रकृतिमैत्री विकासमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।

विश्व वातावरण दिवस २०२६ का अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै उनले हरित विकास, स्वच्छ ऊर्जा, वृक्षारोपण र प्राकृतिक सम्पदाको संरक्षणमार्फत भावी पुस्ताका लागि सुरक्षित भविष्य निर्माण गर्न आह्वान गरेका हुन्।

राष्ट्रपति पौडेलले प्रकृति र वातावरण मानव जीवनको आधार भएको उल्लेख गर्दै स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजंगल तथा जैविक विविधताको संरक्षण गर्नु सबैको साझा अधिकार र दायित्व भएको स्पष्ट पारेका छन्।

यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवम् प्रकृतिमैत्री विकास’ भन्ने मूल नाराका साथ विश्व वातावरण दिवस मनाइरहेको सन्दर्भमा वातावरण संरक्षणमा सबैको ध्यान केन्द्रित हुनुपर्नेमा उनले विशेष जोड दिएका छन्।

नेपालमा जलवायु परिवर्तनको असर भविष्यको मात्र नभई वर्तमानकै संकट बनिसकेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, ‘जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले आज विश्व समुदायलाई गम्भीर चुनौती दिएको छ।

नेपालमा पनि हिमाल पग्लिने, अनियमित वर्षा, बाढी–पहिरो तथा वातावरणीय असन्तुलनजस्ता असरहरू देखिएका छन्। विकास र वातावरण एक आपसका परिपूरक हुन् भन्ने अवधारणाअनुसार हामी सबैले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न आवश्यक छ।’

विकास र वातावरण एकअर्काका परिपूरक भएको धारणा राख्दै उनले प्रकृतिमैत्री जीवनशैली अपनाउन सबैलाई आग्रह गरे।

साथै, स्वच्छ ऊर्जाको प्रयोग, व्यापक वृक्षारोपण, प्राकृतिक सम्पदाको दिगो संरक्षण तथा जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमताको विकास गरेर मात्रै भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य सुनिश्चित गर्न सकिने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *