आफ्नै व्यवसाय दाउमा राखेर १५ जनाको ज्यान जोगाउने बुबा-छोराको साहसिक कथा

डिसी नेपाल
२२ जेठ २०८३ ११:१२

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित मालवीय नगरको एक होटलमा बुधबार सल्किएको भीषण आगलागीमा परेर ११ जना विदेशी नागरिकसहित २१ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेहरूमध्ये अधिकांश आफ्ना आफन्तको उपचारका लागि दिल्ली आएर उक्त होटलमा बसेका थिए।

यस दुःखद घटनाका बीच एउटा तस्बिर र दृश्यले सबैको ध्यान आकर्षित गर्‍यो, जहाँ सडकमा फिँजाइएका डस्ना (गद्दा) हरूमा हामफालेर करिब १२ देखि १५ जनाले आफ्नो ज्यान बचाउन सफल भए। विपद्को समयमा यो प्रशंसनीय र सुझबुझपूर्ण कार्य होटलको ठीक अगाडि सिरक–डस्नाको पसल सञ्चालन गर्दै आएका रियाजुद्दिन र उनका छोरा अरमान मन्सुरीले गरेका थिए।

घटनाको विवरण सुनाउँदै अरमान मन्सुरीले बुधबार बिहान करिब सवा आठ बजे हौजरानी बजारमा रहेको आफ्नो पसल अगाडिको होटलमा आगो लागेको खबर पाएको बताए। उनी साढे आठ बजे घटनास्थल पुग्दा होटलको भुइँतल्लामा आगो फैलिसकेको थियो भने जताततै भागदौड र कोलाहल मच्चिएको थियो।

बिहानको समय भएकाले होटलका अधिकांश पाहुनाहरू सुतिरहेका थिए र केवल केही कर्मचारी मात्र ब्युँझिएका थिए। आगो यति तीव्र गतिमा फैलियो कि न त कोही भित्रबाट बाहिर निस्कन सक्ने अवस्था थियो, न बाहिरबाट कोही भित्र जान सक्ने स्थिति नै बाँकी थियो। आगोको मुस्लो र धुवाँ पहिलो र दोस्रो तल्लासम्म पुगेपछि त्यहाँ अड्किएका मानिसहरू बचाउनका लागि चिच्याउन थालेका थिए।

त्यसपछि अरमान र उनका बुबा रियाजुद्दिनले तुरुन्तै आफ्नो पसलबाट मोटा–मोटा डस्नाहरू निकालेर आसपासका मानिसहरूको सहयोगमा सडकभरि फिँजाउन सुरु गरे। पहिलो र दोस्रो तल्लामा फसेका मानिसहरू ज्यान जोगाउन लुगा कपडाकै भरमा तल हामफाले र डस्ना माथि बजारिएका कारण सामान्य चोटपटक लागे पनि उनीहरूको ज्यान सुरक्षित रह्यो।

आगलागी भएको आधा घण्टापछि मात्र दमकल घटनास्थल पुगेको थियो। आगो निभाइसकेपछि अरमान र दमकलकर्मीहरू होटल भित्र पसेका थिए। तर भित्र अत्यधिक धुवाँ भएकाले सास फेर्न समेत गाह्रो भएपछि उनीहरू भुइँतल्लाबाटै फर्किए, जहाँ धेरै मानिसहरू बेहोस अवस्थामा छरिएर रहेका थिए। उनीहरूले करिब १२ देखि १५ जनालाई बाहिर निकालेर गाला सुम्सुम्याउँदै होसमा ल्याउने प्रयास गरे पनि शरीरले कुनै प्रतिक्रिया नदेखाएपछि एम्बुलेन्समार्फत तत्काल म्याक्स अस्पताल पठाएका थिए।

यस उद्धार कार्यका क्रममा मन्सुरी परिवारको पसलमा रहेका सामानहरू नष्ट भएका छन् र उद्धारमा प्रयोग गरिएका सामग्रीहरू अब बिक्री गर्न नमिल्ने भएका छन्। आगलागीबाट आफ्नो सामान सुरक्षित गर्नुभन्दा मानिसको ज्यान बचाउनु पहिलो प्राथमिकता ठानेका अरमान भन्छन्, “सामान त ६ महिना वा एक वर्षमा फेरि कमाउन सकिएला, मेरो करिब डेढदेखि दुई लाख रुपैयाँको क्षति भएको छ। तर, जोगाइएका ती अमूल्य ज्यानहरूका अगाडि यो रकमको कुनै मूल्य छैन।”

यद्यपि, हालसम्म यो क्षतिको पूर्ति गर्नका लागि स्थानीय प्रशासनबाट कुनै ठोस सहयोग प्राप्त भएको छैन। स्थानीय विधायक सतीश उपाध्यायले उनीहरूलाई भेटेर प्रशंसा गर्दै सहयोगको आश्वासन मात्र दिएका छन्।

पसलका मालिक रियाजुद्दिनका अनुसार यतिबेला बजार मन्दीको चपेटामा छ, त्यसमाथि पसलको सबै सामान नष्ट हुँदा ठूलो समस्या आइपरेको छ। उनले भावुक हुँदै थपे, “हाम्रो डेढ–दुई लाख रुपैयाँको क्षति भएको छ। हामी साना व्यापारी हौँ, हाम्रा लागि यो ठूलो रकम हो। कसैले सहयोग गरिदिए हामी फेरि उठ्न सक्थ्यौँ। दुई महिनापछि घरमा छोरीको विवाह तय भइसकेको छ, पसल नै रित्तिएपछि अब कसरी प्रबन्ध मिलाउने भन्ने चिन्ताले सताएको छ। मेरा ६ जना छोरी र एक जना मात्र छोरा छन्।”

घटनाको अन्त्यमा रियाजुद्दिन र अरमान दुवैले होटलको लापरबाहीतर्फ इसारा गर्दै यदि होटलको भुइँतल्लामा आगो नसल्किएको भए मुख्य बाटोबाटै धेरैलाई बचाउन सकिने उल्लेख गरे। उनीहरूका अनुसार होटलको अर्को एउटा निकासद्वार (इमर्जेन्सी गेट) भए पनि त्यसमा ताला लगाइएको थियो। पछि दमकलकर्मीहरूले उक्त ताला काटेर मात्र केही शव र जीवित मानिसहरूलाई बाहिर निकालेका थिए। यदि त्यो दोस्रो ढोका पहिले नै खुला राखिएको भए अझ धेरै मानिसको ज्यान जोगाउन सकिने उनीहरूको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *