वासिंटन वार्तामा इजरायल र लेबनानबीच युद्धविरामको सहमति
वासिङ्टन डीसी। अमेरिकी नेतृत्वमा वासिङ्टनमा भएको उच्चस्तरीय वार्तापछि इजरायल र लेबनान बुधबार युद्धविराम लागू गर्न सहमत भएका छन्।
दुवै देशबीच औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि संयुक्त विज्ञप्तिअनुसार सीमा क्षेत्रमा एउटा ‘पाइलट जोन’ स्थापना गर्ने सहमति भएको छ, जहाँ लेबनानी सशस्त्र बलले गैर–राज्य सशस्त्र समूहहरूलाई हटाउँदै विशेष नियन्त्रण लिनेछ।
मार्च २ मा हिजबुल्लाहले इरानको समर्थनमा इजरायलमाथि आक्रमण सुरु गरेयता दुवै पक्षबीच प्रत्यक्ष संवादको यो चौथो चरण हो। व्यापक शान्ति सम्झौताका लागि आगामी जुन २२ को हप्तामा पुनः वार्ता गर्ने सहमतिसमेत बनेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानको द्वन्द्व र इरानसँगको तनावलाई अलग-अलग रूपमा सम्बोधन गर्नुपर्ने धारणा राख्नुभएको छ भने इरानका विदेशमन्त्री अब्बास अराघचीले बेरुतमा कुनै पनि आक्रमण भएमा युद्ध पुनः पूर्ण रूपमा सुरु हुने चेतावनी दिनुभएको छ।
यद्यपि, इरान समर्थित हिजबुल्लाहले गोली आदानप्रदानको ‘पूर्ण समाप्ति’ बिना कुनै पनि सहमति कार्यान्वयन नहुने स्पष्ट पारेपछि यो सम्झौतामाथि अनिश्चितताको बादल मडारिएको छ।
हिजबुल्लाहका वरिष्ठ अधिकारी महमुद कोमातीले आफ्नो समूहले आंशिक युद्धविराम स्वीकार नगर्ने दृढता व्यक्त गरेका छन्। यसअघि अप्रिल १७ मा लागू हुने भनिएको युद्धविराम पनि दुवै पक्षको आपसी आरोप-प्रत्यारोपका कारण असफल भएको थियो।
सम्झौता सार्वजनिक भएको केही घण्टाभित्रै उत्तरी इजरायलमा हवाई आक्रमणको चेतावनी जारी गरिनु र सीमावर्ती क्षेत्रमा निरन्तर झडप हुनुले युद्धविरामको घोषणा कागजमै सीमित हुने खतरा बढाएको छ।
युद्धविरामको घोषणा भइरहँदा जमिनमा भने हिंसाको शृङ्खला रोकिएको छैन। इजरायली सेनाले लेबनानबाट आएको शत्रुतापूर्ण विमान र दुईवटा प्रोजेक्टाइलहरू रोकेको दाबी गरेको छ भने हिजबुल्लाहले इजरायलले नै युद्धविराम उल्लंघन गरेको भन्दै उत्तरी इजरायलका सैनिक लक्ष्यहरूमा रकेट आक्रमण गरेको छ।
हिजबुल्लाहले दक्षिणी लेबनानको अल-कान्तारा सहरमा इजरायली सैनिक र सवारी साधनहरूलाई लक्षित गर्दै रकेट प्रहार गरेको र चकिफ क्यासल नजिकैको इजरायली कमान्ड पोस्टमा दुईवटा ड्रोन आक्रमण गरेको जनाएको छ।
इजरायली आक्रमणका कारण दक्षिणी लेबनानमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने इजरायली सेनाले धेरै गाउँहरू खाली गर्न चेतावनी दिँदै २० भन्दा बढी स्थानमा भीषण आक्रमण गरेको रिपोर्ट प्राप्त भएको छ।
यस द्वन्द्वमा मानवीय क्षति र स्वास्थ्यकर्मीहरूमाथिको आक्रमणले भयानक रूप लिएको छ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार टायर सहर नजिक अल-हवास क्षेत्रमा भएको इजरायली आक्रमणमा चार सिरियाली र दुई प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ, यद्यपि इजरायली सेनाले यसबारे आफूलाई जानकारी नभएको बताएको छ।
दक्षिणी क्षेत्रमा एम्बुलेन्सहरूलाई समेत निसाना बनाइएको छ, जसमा अमल आन्दोलन र इस्लामिक स्वास्थ्य समितिसँग आबद्ध तीन जना प्यारामेडिक्स (स्वास्थ्यकर्मी) मारिएका छन्। द्वन्द्व सुरु भएदेखि हालसम्म कम्तीमा १३० जना आपतकालीन तथा स्वास्थ्यकर्मीहरूले ज्यान गुमाइसकेका छन्।
यसैगरी, लेबनानी सेनाले पनि इजरायली आक्रमणमा आफ्ना एक सैनिकको मृत्यु भएको र अन्य दुई जना घाइते भएको पुष्टि गर्दै इजरायलले सैन्य स्थान र सवारी साधनहरूलाई योजनाबद्ध रूपमा लक्षित गरेको भन्दै कडा निन्दा गरेको छ।







डिसी नेपाल







Facebook Comment